सुपरहिट दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को एउटा दृश्य,जहाँ नायक (अल्लु अर्जुन) ले पहिलो पटक नयाँ गाडी किन्छन । जब आफ्नो बस्तीमा प्रवेश गर्छ उनकी आमा चर्को घाममा पसिना पुछ्दै घैलामा पानी बोकेर हिँडिरहेकी हुन्छिन । गाडी चलाईरहेको उसको सहयोगी (केशव) ले एकहोरो हर्न बजाउँँदै गाडी अगाडी बढाउँछ । एक त साघुरो बाटो त्यसमाथि एकहोरो बजेको हर्नले आमा दिक्क हुन्छिन । थोरै आवेशमा आउँछिन र बर्बराउँदै गाडी रोक्छिन । जब गाडीको ढोकाको शिशा खुल्छ आमा झस्किएर गाडीभित्र हेर्छिन् । त्यसपछी उनको अनुहारको आकृती बदलिन्छ । किनकी गाडीको अगाडिको सिटमा उस्कै छोरा पुष्पा उखु टोक्दै बसेको थियो । छोराले पहिलो पटक गाडी किनेको छ, तर आमाको आँखाले त्यो गाडीभन्दा पहिला अर्को कुरा देख्छ—छोराको आँखा वरिपरिको चोट । उनी उत्साहित हुँदै गाडीबारे सोध्दिनन्, गाडीको मूल्य कति होला भनेर अड्कल काट्दिनन्, बरु हतारिँदै सोध्छिन्, “तेरो आँखामा यति धेरै चोट कसरी ? छोराले गाडीभित्रैबाट प्रतिप्रश्न गर्छ—मेरो आँखामा यति सानो सानो चोट तिम्ले देख्यौ, यति ठुलो गाडी लिएर आएको देखेनौ?
यो दृश्य केवल एउटा चलचित्रको संवाद होइन, आमाको मनको सबैभन्दा ठूलो सत्य हो । संसारका सबै आमाहरूको आँखामा एउटा अदृश्य शक्ति हुन्छ, जसले छोराछोरीको सफलता, पैसा, प्रतिष्ठा र बाहिरी चमकभन्दा पहिला उनीहरूको पीडा देख्छ । सन्तान कति अग्लो पदमा पुग्यो, कति महँगो गाडी चढ्यो, कति पैसा कमायो भन्नेभन्दा धेरै आमालाई त्यो सन्तान थाकेको छ कि छैन, ठीकसँग खाएको छ कि छैन, ऊ मुस्कुराइरहेको अनुहारभित्र कतै रोइरहेको त छैन भन्ने चिन्ता हुन्छ । सन्तानले संसारलाई आफ्नो जित देखाउँछ, तर आमाले उसको हार, डर, थकान र चोट पनि देख्छिन् ।
कतिपयलाई लाग्न सक्छ, आमाको विषयमा लेख्दा नेपाली गीत, चलचित्र वा आफ्नै समाजका कथाहरू छोडेर किन एउटा हिन्दी फिल्मको दृश्यबाट कुरा सुरु गरियो ? त्यो प्रश्न अस्वाभाविक होइन । तर यहाँ चर्चा गरिएको दृश्य कुनै फिल्मको प्रशंसा गर्नका लागि होइन, त्यसले बोकेको भाव बुझाउनका लागि हो । माया, पीडा र आमाको मनको कुनै भाषा हुँदैन, कुनै देश हुँदैन । एउटा दृश्यले यदि हजारौँ आमाहरूको मन बोलेको जस्तो लाग्छ भने, त्यो दृश्य जहाँबाट आएको भए पनि त्यसले छोएको सत्य हाम्रो आफ्नै हुन्छ । ‘पुष्पा’को त्यो दृश्य पनि यस्तै एउटा क्षण हो, जसले सम्झाउँछ—आमाले सन्तानको उपलब्धिभन्दा पहिला उसको पीडा देख्छिन् ।
आज मातातिर्थ औँसी हो । नेपाली समाजमा यसलाई आमाको मुख हेर्ने दिन भनेर चिनिन्छ । वर्षभरि आमासँग टाढा रहेकाहरू पनि यही दिन घर सम्झन्छन्, आमाको अनुहार सम्झन्छन्, आमाको आवाज सम्झन्छन् । कसैले बिहानै उठेर आमाको खुट्टा ढोग्छन, कसैले कपडा किनिदिन्छन, कसैले आफ्नो क्षमताले भ्याएको खानेकुरा, घरबाहिर रहेकाले मोबाइलबाट कल वा भिडियो कल गर्छ । सामाजिक सञ्जालभरि आमासँगको फोटो राखिन्छ, आमाका लागि स्टाटस हालिन्छ । तर यो दिनको सबैभन्दा ठूलो अर्थ यति मात्रै होइन । यो दिनले हामीलाई एउटा प्रश्न सोध्छ—हामीले आमाको मुख त हे¥यौँ, तर आमाको मन कहिल्यै पढ्यौँ ?
आमा भन्ने शब्द यति सानो छ कि बोल्न एक सेकेन्ड पनि लाग्दैन । तर यही शब्दभित्र एउटा महिलाले जन्मेदेखि मृत्युसम्म बोकेको असंख्य पीडा, त्याग, चिन्ता र प्रेम अटाएको हुन्छ । एउटा आमा कहिल्यै पूर्ण रूपमा आफ्नो लागि बाँच्दिनन् । उनी सधैँ कसैको लागि बाँचिरहेकी हुन्छिन् । सानो छोराछोरी हुँदा रातभरि नसुती उनीहरूलाई सम्हाल्छिन् । ज्वरो आउँदा आफ्नो निधारभन्दा पहिला छोराको निधार छाम्छिन् । आफूले राम्रो लुगा नलगाएर भए पनि छोराछोरीलाई नयाँ कपडा किनिदिन्छिन् । आफूले भोकै बसेर भए पनि उनीहरूलाई पेटभरि खान दिन्छिन् । घरमा मासु कम भयो भने ‘मलाई मासु खासै मन पर्दैन’ भनेर छोराछोरीलाई मात्रै थपेर दिन्छिन् । त्यो झुट उनले जिन्दगीभरि बोलिरहन्छिन् ।
हामीमध्ये धेरैलाई याद होला, बाल्यकालमा स्कुल जाँदा आमा झ्यालबाट वा आँगनको डिलसम्म आएर हेर्थिन् । बेलुका फर्किन ढिलो भयो भने आँगनमा उभिएर बाटो हेर्थिन् । हामीले कहिल्यै त्यो प्रतीक्षाको गहिराइ बुझेनौँ । किनभने त्यो प्रतीक्षा केवल कसैले घर फर्किने प्रतीक्षा थिएन, त्यो आफ्नै मुटुको टुक्रा सुरक्षित फर्किने प्रतीक्षा थियो । संसारमा कुनै पनि सम्बन्धमा यति धेरै डर, यति धेरै माया र यति धेरै धैर्य सँगै भेटिन्न ।
तर समय बदलियो । गाउँ बदलियो । घरका संरचना बदलिएका छन् । अहिले नेपाली समाजको एउटा ठूलो पीडा के हो भने, आमाहरू बिस्तारै घरमा एक्लिँदै गएका छन् । छोराछोरी पढ्न, काम गर्न, पैसा कमाउन भनेर विदेश गएका छन् । कोही खाडीमा छन्, कोही मलेसियामा, कोही अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, युरोपमा छन् । विदेश जाने क्रममा विमानस्थलमा आमाले छोरालाई अँगालो हालेर रोएको दृश्य अहिले नेपाली समाजको सबैभन्दा सामान्य दृश्य बनेको छ । छोराछोरी पनि रुन्छन् । उनीहरू जान चाहँदैनन्, तर बाध्यता छ । घरको ऋण तिर्नुपर्छ, राम्रो भविष्य बनाउनु छ, परिवारलाई सुख दिनु छ । उनीहरू जान्छन् । तर घरको एउटा कोठा खाली हुन्छ । आँगन सुनसान हुन्छ । अनि त्यो सुनसान घरमा एउटा आमा दिनदिनै बूढी हुँदै जान्छिन् ।
गाउँका धेरै घरहरूमा अहिले यस्तै आमाहरू छन्, जसका छोराछोरी विदेशमा छन् । बिहान उठेर उनीहरू गोठालो जान्छन्, घाँस काट्छन्, बारीमा काम गर्छन्, साँझ एक्लै आगो बाल्छन् । भान्सामा चार जनाको परिवारका लागि बनाइने खाना अहिले एक जनाका लागि मात्रै पाक्छ । पहिले जुन घरमा छोराछोरीको हल्ला हुन्थ्यो, त्यो घरमा अहिले रेडियोको आवाज वा टेलिभिजनको आवाज मात्रै सुनिन्छ । मोबाइलमा छोराको फोन आउँछ । “आमा, म ठीक छु” भन्ने आवाज सुन्नासाथ उनी खुशी हुन्छिन् । तर फोन काटिएपछि फेरि त्यो घर सुनसान हुन्छ ।
धेरै आमाहरूलाई भिडियो कल गर्न आउँदैन । छोराले विदेशबाट पैसा पठाउँछ, तर त्यो पैसाभन्दा धेरै उनलाई छोराको स्पर्श चाहिएको हुन्छ । छोरो घर आएर “आमा, खाना देऊ” भनेको आवाज चाहिएको हुन्छ । छोरीले कपाल कोरिदिएको, “आमा, धेरै काम नगर” भनेको सुन्न मन लागेको हुन्छ । विदेशबाट पठाइएको महँगो फोनले पनि त्यो अभाव पूरा गर्न सक्दैन । किनभने आमालाई वस्तु होइन, उपस्थिती चाहिन्छ ।
हाम्रो समाजमा एउटा अचम्मको विडम्बना छ । सन्तान सफल भयो भने आमाले सबैभन्दा धेरै गर्व गर्छिन् । तर त्यो सफलता पाउनका लागि सन्तान घरबाट टाढा जानुपर्छ । अनि त्यही सफलताको मूल्य आमाले एक्लोपनको रूपमा चुकाउनुपर्छ । छोराले विदेशमा घर किन्यो, गाडी किन्यो, ठूलो जागिर पायो । गाउँमा सबैले भन्छन्, “कति भाग्यमानी आमा १” तर त्यो आमा राति एक्लै सुत्दा तकियामा आँसु झारिरहेकी हुन्छिन् । उनलाई थाहा हुन्छ, छोराले संसार जितिरहेको छ । तर उनलाई त्यो पनि थाहा हुन्छ कि उसलाई छोएर माया गर्न उनीसँग अब वर्षमा एक पटक मात्रै समय हुन्छ ।
मातातिर्थ औँसीजस्ता दिनमा सबैभन्दा धेरै सम्झिनेहरू सायद यस्तै आमाहरू हुन्, जो वर्षौँदेखि आफ्ना सन्तानको बाटो हेरिरहेका छन् । कतिपय आमाहरू बिहानै उठेर घरको ढोका सफा गर्छन्, “आज त छोरो आउँछ कि” भन्ने आशा गर्छन् । कतिपयले फोन आउँछ कि भनेर मोबाइल नजिकै राख्छन् । कतिपयले छोराले पठाएको पुरानो फोटो हेरेर दिन बिताउँछन् । उनीहरूलाई धेरै केही चाहिएको हुँदैन । केवल दुई शब्द—“आमा, तपाईं कस्तो हुनुहुन्छ ?” यति सुन्न पाए पुग्छ ।
तर सबैभन्दा पीडादायी कुरा त त्यो हो, जहाँ सन्तान हुँदाहुँदै पनि आमा बृद्धाश्रममा बस्न बाध्य हुन्छिन् । संसारमा कुनै पनि आमाले आफ्ना सन्तानलाई जन्माउँदा कहिल्यै कल्पना गरेकी हुँदिनन् कि जीवनको अन्तिम समय उनीहरूबाट टाढा, अपरिचित कोठामा बिताउनुपर्ला । उनले सन्तानलाई नौ महिना पेटमा राखिन्, वर्षौँ काखमा राखिन्, रोग लाग्दा रातभरि जागिरहिन्, उनीहरूका लागि आफ्नो सपना त्यागिन् । तर बुढेसकालमा त्यही आमा एउटा वृद्धाश्रमको झ्यालबाट बाहिर हेर्दै बसिरहेकी हुन्छिन् ।
वृद्धाश्रममा रहेका धेरै आमाहरूको पीडा एउटै हुन्छ—उनीहरूलाई खान, बस्न, औषधि पाउन गाह्रो छैन । गाह्रो त आफ्नै मान्छेको अभावले हुन्छ । उनीहरू भन्छन्, “हामीलाई दुःख पैसा नभएर होइन, आफ्नै छोराछोरी नभएर भएको हो ।” कुनै आमाले वर्षौँदेखि छोराको अनुहार देखेकी हुँदिनन् । कुनै आमालाई छोरा विदेशमै व्यस्त छ । कुनै आमालाई बुहारीले घरमा राख्न मानेन । कुनै आमा आफैँले “छोराछोरीलाई बोझ नबनूँ” भनेर वृद्धाश्रम गइन् । तर कारण जे भए पनि, अन्तिम सत्य एउटै हो—एक जना आमा एक्लिएकी छिन् ।
हामी आधुनिकताको नाममा धेरै अगाडि बढिरहेका छौँ । हाम्रो जीवनशैली बदलिएको छ । हामीसँग समय कम छ । काम धेरै छ । तर यही दौडधुपका बीचमा हामीले एउटा कुरा बिर्सिरहेका छौँ—हामीलाई संसारमा कसैले बिना शर्त माया गरेको छ भने त्यो आमा हो । आमा त्यस्तो मान्छे हुन्, जसलाई हाम्रो सफलतामा गर्व हुन्छ, असफलतामा पनि साथ हुन्छ । संसारले सबै कुरा हिसाब गरेर दिन्छ, तर आमाले कहिल्यै हिसाब गर्दिनन् । हामीले उनलाई के दियौँ, उनले हामीलाई के दिइन् भनेर कहिल्यै तुलना गर्दिनन् । उनी त केवल यति चाहन्छिन्—“मेरो छोरो, मेरी छोरी ठीक होस् ।”
सायद त्यसैले हामी धेरैजसो मानिसहरू जीवनको कुनै मोडमा पुगेर मात्रै आमाको मूल्य बुझ्छौँ । जब आफैँ बुबा वा आमा बन्छौँ, तब थाहा हुन्छ कि एउटा बच्चाको लागि रातभरि नसुती बस्नु भनेको के हो । जब घरबाट टाढा बस्छौँ, तब थाहा हुन्छ कि आमाको हातको खाना किन यति स्वादिलो लाग्थ्यो । जब बिरामी पर्छौँ, तब सम्झना आउँछ—हामीलाई सानैमा ज्वरो आउँदा आमा रातभरि हाम्रो टाउकोमा पानीको पट्टी राखेर बसेकी थिइन् । जब ठूलो सफलता पाउँछौँ, तब पनि सबैभन्दा पहिला फोन गर्न मन लाग्ने व्यक्ति आमा नै हुन्छिन् ।
तर जीवनको सबैभन्दा ठूलो दुःख त्यो हो, हामीले आमाको मूल्य बुझ्दासम्म कहिलेकाहीँ धेरै ढिलो भइसकेको हुन्छ । कतिपयले आमालाई गुमाइसकेपछि मात्रै सम्झिन्छन् । मातातिर्थ औँसीमा मातातिर्थ गएर आमाको नाममा पानी चढाउँछन्, तर्पण गर्छन्, आँसु झार्छन् । उनीहरूका लागि अब आमा सम्झनामा मात्रै बाँकी हुन्छिन् । अनि त्यो बेला महसुस हुन्छ—जीवनमा सबैभन्दा धेरै माया गर्ने मान्छेलाई हामीले कहिल्यै समय दिएनौँ ।
त्यसैले मातातिर्थ औँसीमा यदि तपाईंकी आमा तपाईंसँगै हुनुहुन्छ भने, केवल औपचारिक रूपमा ‘ह्याप्पी मदर्स डे’ भनेर नछोड्नुहोस् । उहाँसँग केही बेर बस्नुहोस् । उहाँका कुरा सुन्नुहोस् । उहाँलाई सोध्नुहोस्, “आमा, तपाईं खुशी हुनुहुन्छ ?” उहाँको हात समात्नुहोस् । उहाँलाई भन्नुहोस्, “तपाईंले धेरै गर्नुभयो, अब केही समय तपाईंका लागि पनि बाँच्नुहोस् ।” यदि तपाईं टाढा हुनुहुन्छ भने, फोन गर्नुहोस् । भिडियो कल गर्नुहोस् । उहाँलाई महसुस गराउनुहोस् कि दूरीले सम्बन्धलाई कमजोर बनाएको छैन ।
किनभने आमालाई धेरै महँगो उपहार चाहिँदैन । उहाँलाई केवल आफ्ना सन्तानको माया चाहिन्छ, साथ चाहिन्छ, सम्झना चाहिन्छ । उहाँले जन्मदेखि नै हामीलाई आफ्नो संसार बनाइदिनुभयो । अब हाम्रो पालो हो—उहाँलाई एक्लो नछोड्ने, उहाँको पीडा बुझ्ने, उहाँको वृद्धावस्थालाई सम्मान र प्रेमले भरिदिने ।
किनकि संसारमा हजारौँ सम्बन्धहरू भेटिन्छन्, छुट्छन्, फेरिन्छन् । तर एउटा सम्बन्ध कहिल्यै बदलिँदैन—आमाको । आमाले सन्तानलाई जति माया गर्छिन्, त्यो माया कुनै भाषामा लेख्न सकिँदैन, कुनै तौलमा नाप्न सकिँदैन, कुनै मूल्यमा किन्न सकिँदैन । अनि शायद यही कारणले, संसारका सबै पर्वहरूमध्ये आमाको मुख हेर्ने दिन सबैभन्दा धेरै भावुक बनाउने दिन हो । किनकि यो दिनले हामीलाई फेरि सम्झाउँछ—हामी जहाँ पुगेका छौँ, जति बनेका छौँ, त्यसको पछाडि एउटी आमा छिन्, जसले आफ्नो जीवनको उज्यालो सन्तानका लागि खर्च गरिन् ।


