ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा विद्युत् करेन्ट लागेर एक वृद्धा गम्भीर घाइते भएकी छन्। आज (सोमबार) साँझ करिब ४:३० बजेको समयमा स्थानीय ७२ वर्षीया रत्न माया श्रेष्ठ आफ्नै घर नजिकैको बारीमा बाँधिएको बाख्रा फुकाउन जाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।
प्रहरीका अनुसार नजिकै रहेको बिजुलीको पोलबाट अचानक तार झरेपछि करेन्ट प्रवाह हुँदा श्रेष्ठलाई झट्का लागेको हो। सोही स्थानमा बाँधिएको एक वटा बाख्रा समेत करेन्ट लागेर मरेको छ। घटनाको जानकारी साँझ ४:४० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा प्राप्त हुनासाथ प्रहरी चौकी खानिभञ्ज्याङबाट प्रहरी टोली खटिएको थियो।
घाइते श्रेष्ठलाई तत्काल उद्धार गरी आधारभूत अस्पताल खानिभञ्ज्याङ पठाइएको छ। उनको बाँया हात, खुट्टा तथा कम्मरमा करेन्ट लागेर गम्भीर रूपमा डढेको छ भने अवस्था बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
AI बाट बनाइएको साङ्केतिक तस्बिर


