• २०८३ श्रावण २९, शुक्रवार
0 COMMENTS

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले अपराध तथा नकारात्मक घटनाको समाचारसँगै समाजमा भइरहेका सकारात्मक गतिविधिलाई समेत प्राथमिकता दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आज (शुक्रबार) जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन ।

करिब तीन महिना अघि ओखलढुंगाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका महर्जनले जिल्लाको समग्र सुरक्षा अवस्था र प्रहरी कार्यसम्पादनबारे पत्रकारहरूसँग छलफल गरेका थिए । अन्तरक्रियाका क्रममा महर्जनले छिटपुट घटना बाहेक अपराधको दृष्टिले ओखलढुंगा तुलनात्मक रूपमा शान्त रहेको बताएका छन्। जिल्लामा शान्ति–सुरक्षा कायम राख्न प्रहरीको प्रयाससँगै नागरिक, सञ्चारमाध्यम र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नकारात्मक र नराम्रा घटनाले बढी चर्चा पाउने गरेको उल्लेख गर्दै समाजमा भइरहेका सकारात्मक काम र उपलब्धिलाई पनि उत्तिकै प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे। समाजमा हुने अपराध तथा विकृतिका घटनालाई उजागर गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी भए पनि त्यससँगै सकारात्मक गतिविधिको प्रचारले समाजमा राम्रो सन्देश प्रवाह गर्ने महर्जनको भनाइ थियो।

कार्यक्रममा पत्रकारहरूले जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण, प्रहरी–पत्रकार सम्बन्ध तथा सूचना आदानप्रदानलगायत विषयमा प्रहरी प्रमुखसँग जिज्ञासा राखेका थिए। प्रहरी र सञ्चारमाध्यमबीच नियमित संवाद तथा सहकार्यले जिल्लाको शान्ति–सुरक्षा थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!