ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–१२ स्थित हुलाकडाँडादेखि स्रष्टापार्कसम्म फैलिएको ४०८ मिटर लामो झोलुङ्गे पुल अहिले अन्तिम रूप लिँदैछ । सदरमुकामलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको यस पुलमा संघीय सरकारले करिब चार करोड रुपैयाँ लगानी गरेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा धेरै अगावै काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ । संरचनाको मुख्य काम लगभग सम्पन्न भइसकेको छ भने अब फिनिसिङ, सुरक्षा परीक्षण तथा अन्य प्राविधिक प्रक्रिया पूरा गरी सञ्चालनको तयारी गरिएको छ ।
निर्माण कम्पनी हिमशिखर हिरा प्रा.लि का ठेकेदार प्रतिनिधि हर्कबहादुर मल्लले पुल निर्माणको ९८ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताए । उनले भने “अहिले फिनिसिङका केही काम मात्र बाँकी छन्। निर्माणमा दक्ष प्राविधिक र प्राविधिक मापदण्डको पालना गरिएकाले यसको गुणस्तरमा प्रश्न उठाउनुपर्ने अवस्था छैन। अब यो संरचना कति लामो समयसम्म टिकाउ हुन्छ भन्ने कुरा निर्माणसँगै सञ्चालनपछिको नियमित हेरचाह, मर्मत–सम्भार र उचित व्यवस्थापनमा पनि निर्भर रहनेछ।”
पर्यटकीय आकर्षणका रूपमा निर्माण गरिएको यो पुलको औचित्यमाथि भने स्थानीयस्तरमा प्रश्न पनि उठ्न थालेका छन । खोला नै नभएको स्थानमा करोडौं रुपैयाँ खर्चिनुको सट्टा उक्त बजेट सडक, खानेपानी, शिक्षा, स्वास्थ्य वा अन्य आवश्यक पूर्वाधारमा लगानी गरिएको भए बढी प्रभावकारी हुने कतिपयको तर्क छ । पर्यटनको नाममा निर्माण गरिएका यस्ता संरचनाले अपेक्षित प्रतिफल दिन सक्ने आधार अझ स्पष्ट हुनुपर्ने स्थानिय राम शाक्यको धारणा छ ।”पर्यटन पूर्वाधारको विकास एउटा झोलुङ्गे पुल निर्माण गरेर मात्रै सम्भव हुँदैन उनले भने, पर्यटक आकर्षित गर्न यससँगै अन्य आवश्यक पूर्वाधार र गतिविधि पनि विकास गर्नुपर्छ। यो पुल हेर्नकै लागि मात्रै धेरै पर्यटक आउने सम्भावना कम देख्छु। यदि साँच्चै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य हो भने यहाँ साइकलिङ ट्रेल, प्याराग्लाइडिङलगायत अन्य साहसिक तथा मनोरञ्जनात्मक गतिविधिलाई पनि सञ्चालनमा ल्याउन आवश्यक छ। त्यसो गर्न सके मात्र यस्ता संरचनाले अपेक्षित प्रतिफल दिन सक्छन्।”
यता, स्थानीय सरकारले भने यो पुल आवतजावतका लागि नभई सदरमुकामलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन योजनाअन्तर्गत निर्माण गरिएको प्रष्ट पार्दैै आएको छ । पुल सञ्चालनमा आएपछि हुलाकडाडाबाट श्रष्टापार्क आवतजावतमा गर्न सहज हुने,आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, सदरमुकाममा बसाइ अवधि लम्बिने, होटल तथा रेस्टुरेन्ट व्यवसाय चलायमान हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल(तेजेन्द्र) ले यो पुल आवतजावतका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो भन्ने कुरा स्पष्ट हुन आवश्यक रहेको बताए । उनले भने, “स्रष्टा पार्क क्षेत्रमा नगरपालिकाले विभिन्न पर्यटकीय संरचना निर्माण गरिसकेको छ, र त्यहाँ पुग्न यो पुलले नागरिक तथा पर्यटकलाई सहज बनाउनेछ। यो आयोजना संघीय सरकारबाट झोलुङ्गे पुल निर्माणका लागि विनियोजित बजेटबाट निर्माण भइरहेको हो। यदि यहाँ निर्माण नभएको भए पनि यही बजेट अन्य जिल्लामै त्यही शीर्षकमा खर्च हुने थियो। यो कुनै सडक, शिक्षा, स्वास्थ्य वा अन्य विकास आयोजनाको बजेट कटौती गरेर निर्माण गरिएको आयोजना होइन, झोलुङ्गे पुलका लागि छुट्याइएको बजेट सोही उद्देश्यमा प्रयोग गरिएको हो।”
मुलुकका विभिन्न जिल्लामा पछिल्लो समय झोलुङ्गे पुलहरू आवतजावतको माध्यम मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुन थालेका छन । त्यस्ता कतिपय पुलले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आन्तरिक पर्यटनलाई समेत टेवा पु¥याएका उदाहरण छन । यद्यपि, कुनै पनि पर्यटकीय पूर्वाधारको सफलता केवल संरचना निर्माणले मात्र सुनिश्चित हुँदैन ।
त्यससँग जोडिने पहुँच, प्रचारप्रसार, व्यवस्थापन, सुरक्षा र पर्यटकलाई आकर्षित गर्ने थप गतिविधिले नै त्यस्ता आयोजनाको प्रभावकारिता निर्धारण गर्छ । त्यसैले अहिले बहसको केन्द्रमा रहेको यो पुल भविष्यमा ओखलढुंगाको नयाँ चिनारी बन्ने कि आलोचनाकै विषय रहने भन्ने प्रश्नको उत्तर यसको उद्घाटनले होइन, सञ्चालनपछि यहाँ आउने पर्यटकको संख्या, स्थानीय व्यापारमा पर्ने प्रभाव र प्राप्त हुने आर्थिक प्रतिफलले मात्रै दिनेछ ।


