ओखलढुंगा । जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई आधुनिक कृषि प्रविधि र व्यावसायिक खेती प्रणालीबारे तालिम दिन थालिएको छ । जिल्लाका आठवटै स्थानीय तहबाट छनोट गरिएका १६ जना कृषक सहभागी तीन दिने तालिममा उत्पादन बढाउनेदेखि लागत घटाउने र बजारमुखी खेती प्रणाली अपनाउने सम्मका विषयमा व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्न थालिएको छ । तरकारी खेतीलाई निर्वाहमुखी कृषिबाट व्यावसायिक आम्दानीको भरपर्दो आधार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ ।
जिल्लाका धेरै कृषक अहिले तरकारी खेतीमा आकर्षित भएका छन । खेतबारीमा उत्पादन बढाउने र त्यही उत्पादनलाई आम्दानीको स्रोत बनाउने उनीहरूको लक्ष्य छ । तर बदलिँदो कृषि प्रणाली र बढ्दो बजार प्रतिस्पर्धाका बीच परम्परागत तरिकाले मात्रै व्यावसायिक तरकारी खेतीबाट अपेक्षित प्रतिफल लिन कठिन छ । यही अवस्थालाई ध्यानमा राख्दै कृषकलाई आधुनिक प्रविधि र व्यावसायिक खेती प्रणालीबारे दक्ष बनाउन कृषि ज्ञान केन्द्रको आयोजनमा तालिम सञ्चालन गरिएको हो ।
आधुनिक खेती प्रविधि, बाली व्यवस्थापन, उत्पादन लागत घटाउने उपाय तथा कृषिलाई व्यवसायका रूपमा अघि बढाउने विषयमा प्रशिक्षण थालिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख पेशल खतिवडाले बताए । व्यावसायिक तरकारी खेतीमा उत्पादन मात्रै महत्वपूर्ण हुँदैन । कुन मौसममा कुन बाली लगाउने, उपयुक्त जात र गुणस्तरीय बीउ कसरी छनोट गर्ने, माटोको अवस्था अनुसार मलखादको प्रयोग कसरी गर्ने तथा रोग–कीरा व्यवस्थापन कसरी गर्ने भन्ने कुराले पनि उत्पादन र आम्दानीमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले तालिममा कृषकले कक्षामा सिकेको ज्ञान खेतबारीमै प्रयोग गर्न सकुन भन्ने उद्देश्यले व्यवहारिक र प्राविधिक पक्षलाई प्राथमिकता दिइएको छ ।
आधुनिक प्रविधिको प्रयोग, बाली व्यवस्थापन र उत्पादनको गुणस्तर कायम गर्ने विषयमा समेत कृषकलाई जानकारी दिइने सहायक बागवानी विकास अधिकृत टिकाराम बानियाँको भनाइ छ । ओखलढुंगाका आठवटै स्थानीय तहमा विभिन्न किसिमका कृषि उत्पादनको सम्भावना छ । तर सम्भावनालाई व्यावसायिक उत्पादनमा बदल्न प्रविधि, दक्ष जनशक्ति, लगानीसँगै बजार व्यवस्थापन अझै चुनौतीका रूपमा देखिन्छ ।
स्थानीय स्तरमै उत्पादन बढाउन सके बाहिरी जिल्लाबाट आयात हुने तरकारीमा निर्भरता घटाउनुका साथै कृषकको आम्दानीसमेत बढाउन सकिने अपेक्षा गरिएको छ । त्यसका लागि कृषकलाई उत्पादनसँगै बजारको माग, गुणस्तर र व्यावसायिक योजनाबारे समेत जानकार बनाउनुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको विकासमा स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका प्राविधिक निकाय र कृषकबीचको समन्वय समेत महत्वपूर्ण रहेको जिल्ला समन्वय समिती प्रमुख टेकराज भट्टराईको भनाइ छ ।
तर कृषकलाई तालिम दिएर प्रमाणपत्र उपलब्ध गराउनु मात्रै यसको उपलब्धि होइन । तालिमबाट सिकेको ज्ञान र सीप खेतबारीमा प्रयोग भएर उत्पादन, उत्पादकत्व र आम्दानीमा देखिने परिवर्तन ल्याउन सके मात्रै यस्ता कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुन्छ । त्यसैले तालिमलाई उपलब्धिमुखी बनाउन सिकेका प्रविधिको प्रयोग, उत्पादनमा वृद्धि र कृषकको आयआर्जनमा आएको परिवर्तनलाई यसको सफलताको आधार मान्नुपर्नेमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगा निमित्त प्रमुख गणेश भट्टराईले जोड दिए । व्यावसायिक तरकारी खेतीलाई प्रविधिमैत्री, उत्पादनमुखी र बजारमुखी बनाउन यस्ता तालिमले आधार तयार गर्न सक्छन ।
तर तालिमको वास्तविक सफलता भने कृषकले सिकेको प्रविधि व्यवहारमा कति उतार्छन र त्यसबाट उत्पादन तथा आम्दानीमा कस्तो परिवर्तन आउँछ भन्ने कुराले निर्धारण गर्नेछ । परम्परागत खेती प्रणालीबाट आधुनिक र व्यावसायिक कृषि प्रणालीतर्फ अघि बढ्न कृषकलाई प्रविधि र प्राविधिक ज्ञान आवश्यक छ । तालिमले कृषकलाई नयाँ प्रविधिसँग जोड्ने प्रयास गरे पनि यसको प्रभाव खेतबारीमा देखिन भने आवश्यक छ । उत्पादन बढाउने, लागत घटाउने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी कृषकको क्षमता विकास गर्न सके मात्रै तरकारी खेती ओखलढुंगामा दिगो आम्दानीको आधार बन्न सक्नेछ ।


