ओखलढुंगा । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८२/०८३ मा ३७ लाख २८ हजार २०३ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ६१ वटा सवारी साधनलाई कारबाही गर्दै उक्त राजश्व संकलन गरिएको हो । सोही अवधिमा जिल्लामा ४३ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना गम्भीर र ४५ जना सामान्य घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको वार्षिक विवरण अनुसार सबैभन्दा बढी कार/जिपतर्फ १ हजार ७ सय ३४ वटा सवारी कारबाहीमा परेका छन्। यसबाट १८ लाख ७९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी ६८९ वटा मोटरसाइकल कारबाहीबाट ९ लाख ३२ हजार १ सय २ रुपैयाँ, ट्रकतर्फ ५२४ वटा कारबाहीबाट ५ लाख ७३ हजार १ सय १ रुपैयाँ सङ्कल गरिएको छ । बसतर्फ ११६ वटा कारबाहीबाट १ लाख ४१ हजार ५ सय रुपैयाँ, टिपरतर्फ ६७ वटा कारबाहीबाट ६८ हजार ५ सय रुपैयाँ, ट्याक्टरतर्फ ७९ वटा कारबाहीबाट ६९ हजार ५ सय रुपैयाँ, अटो/सिटी सफारीतर्फ ५१ वटा कारबाहीबाट ६३ हजार रुपैयाँ तथा अन्य १ वटा सवारी कारबाहीबाट १ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस्तै, आर्थिक वर्षभर ५७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने १० जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएका छन्। दुर्घटनाबाट करिब ४७ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको तथ्यांकमा उल्लेख छ।
ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँच अभियानअन्तर्गत ७० जना चालकलाई कारबाही गर्दै ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यसैगरी, ट्राफिक नियमको पालना र सडक सुरक्षा प्रवर्द्धनका लागि आर्थिक वर्षभर ७४४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट ११ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी सहायक निरीक्षक भेषबहादुर थापाले जानकारी दिए ।


