ओखलढुंगा । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन । जिल्लाको सुनकोशी गाउँपालिका ९ कटुञ्जेकी लालीमायाँ खत्री रापचाले बाटोमै बच्चा जन्माएकी हुन ।
लालीमायाँका आफन्तले सुनकोशी ९ स्थित स्वास्थ्य कार्यालयको वर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी भए÷नभएको केहि दिन अघिदेखी नै जानकारी लिँदै आएका थिए । तर २ जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको त्यहाँ गत श्रावण ७ गतेदेखी नै १ जना नर्सिङ कर्मचारी प्रसुती बिदामा बसेको र अर्को १ जनालाई गाउँपालिकाले काजमा मुलखर्क स्वास्थ्य चौकीमा खटाएपछि नर्सिङ कर्मचारी नभएको भन्दै स्वास्थ्य चौकीले अस्पताल लैजान सुझाव दिएको थियो ।
सुत्केरी ब्यथाले च्यापेपछि उनलाई घरबाट आज (आईतबार) सामुदायिक अस्पताल सोबु्र ल्याउने क्रममा उनले बाटोमै छोरा जन्माएको कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख भानुभक्त बास्तोलाले जानकारी दिए । बाटोमै सुत्केरी गराउने कार्यमा स्थानीय स्वयमसेविका मुना श्रेष्ठले सहयोग गरेकी थिईन ।
बाटोमै बच्चा जन्मिएपछि बच्चा र आमालाई आफन्तले स्वास्थ्य चौकी कटुञ्जे लगेका थिए । आमाको स्वास्थ्य अवस्था सामान्य देखिएको भएपनि बच्चाको तौल २ केजी भन्दा कम भएको र बच्चाले दुध नचुसेपछि पुन सामुदायिक अस्पताल सोबु्र पठाईएको स्वास्थ्य चौकी प्रमुख बास्तोलाले बताए ।
यता सोही वडाका वडा अध्यक्ष हितराज कार्कीले भने गाउँपालिकाले कर्मचारी काजमा खटाएलगत्तै स्वास्थ्य चौकी व्यवस्थापन समिती मार्फत निर्णय गरेर दरबन्दी अनुशारको कर्मचारी माग गरिएको बताएका छन ।