ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ६ भदौरेका विद्यार्थीलाई वडाले तयार पारेको स्थानीय पाठ्यपुस्तक (वर्क बुक) वितरण गरिएको छ । वडा नम्बर ६ का ८ सामुदायिक विद्यालय र २ सामुदायिक बाल सिकाई केन्द्रका झन्डै १४५ जना बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो ।
वडाभित्रका बालकक्षा र कक्षा १ का बालबालिकाहरुलाई आज (बुधबार) वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुस्तक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा स्थित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रधानाध्यापकलाई कार्यक्रममा बोलाएर अभिमूखीकरण सहित पाठ्यपुस्तक वितरण गरिएको वडा अध्यक्ष बलराम कट्वालले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका प्रमुख निशान्त शर्मा, उपप्रमुख सन्तोष थापा लगायत विशिष्ट अतिथीहरुले वडाले तयार पारेको पाठ्यपुस्तक सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरेका थिए । बालबालिकालाई वितरण गरिएको सो पुस्तक वडा अध्यक्ष कट्वालले आफै तयार गरेका हुन भने पुस्तक छपाईको खर्च वडा कार्यालयको रहेको छ । विशेष गरी विद्यालयमा बालबालिकाले सिक्नै पर्ने आधारभूत विषयबस्तु समावेश गरिएको सो पुस्तक घरैमा अभिभावकले समेत बालबालिकालाई अभ्यास गराउन सक्नेछन ।
पुस्तकमै अभ्यास गर्न सकिने भएकाले छुट्टै अभ्यास पुस्तिका समेत आवश्यक पर्दैन । स्थानीय पाठ्यक्रममा समावेश गराउने उदेश्यले तयार पारिएको यो पुस्तक आगामी वर्षहरुमा पनि कक्षा स्तरबृद्धि गर्दै वितरण जारी राखिने वडा अध्यक्ष कट्वालले बताए । तल्लो तहका कक्षा देखी सामुदायिक विद्यालयको शिक्षण सिकाईलाई अझ सहज, पृथक र प्रभावकारी बनाउने उदेश्यले यो पुस्तक तयार गरिएको कट्वालको भनाई छ ।
अनलाईनबाट पुस्तक हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस ।