• २०८३ श्रावण ३, आइतवार
0 COMMENTS

ओखलढुंगा । बजारमा खाद्यान्नको मूल्य बढिरहेका बेला सरकारले उपलब्ध गराउँदै आएको सहुलियत मूल्यको चामलप्रति जिल्लाका उपभोक्ताको आकर्षण बढ्दै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय ओखलढुंगाले आर्थिक वर्षभर सञ्चालन गरेको सहुलियत बिक्री कार्यक्रममार्फत जिल्लामा उल्लेख्य परिमाणमा चामल तथा चिनी बिक्री गरेको छ।

कार्यालयका अनुसार यस आर्थिक वर्ष २०८२/०८३ मा अरुवा सोना मन्सुली ३९ हजार ६ सय ७५ केजी, फोर्टिफाइड अरुवा सोना मन्सुली ४ हजार ५ सय २५ केजी, फोर्टिफाइड स्टिम जिरा मसिनो ४ हजार ८ सय ७५ केजी र स्टिम जिरा मसिनो ११ हजार ७ सय २५ केजी गरी कुल ६० हजार ८ सय केजी अर्थात् ६०८ क्विन्टल चामल बिक्री भएको हो।

यसै अवधिमा ८ हजार ३ सय ४४ केजी चिनी पनि सहुलियत दरमा बिक्री गरिएको कार्यालयले जनाएको छ। सरकारले सञ्चालन गरेको सहुलियत बिक्री कार्यक्रमअन्तर्गत यसै आर्थिक वर्षमा ३ पटक २५ केजीको प्रत्येक बोरा चामलमा २५० रुपैयाँसम्म छुट दिइएको थियो। बजार मूल्यभन्दा सस्तो दरमा चामल उपलब्ध भएपछि जिल्ला स्थित विभिन्न क्षेत्रका उपभोक्ताले यसको लाभ लिएका छन्।

विशेषगरी जिल्लाको माथिल्लो तथा दुर्गम भेगबाट समूह बनाएर सवारीसाधनमार्फत चामल लिन आउने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय ओखलढुंगाकि प्रमुख बिना घिमिरेले बताइन । बिगतका केही वर्षमा चामल बिक्री न्यून हुँदा गोदाममा लामो समय मौज्दात रहेको चामल बिग्रिएर नष्ट हुने अवस्था समेत आएको थियो। तर यस आर्थिक वर्ष भने उपभोक्ताको माग बढेपछि त्यस्तो अवस्था नदोहोरिएको प्रमुख घिमिरेको भनाइ छ । सहुलियत बिक्री कार्यक्रम प्रभावकारी बन्दै गएसँगै मौज्दात व्यवस्थापनमा पनि सहजता आएको कार्यालयले जनाएको छ।

यद्यपि, बजार मूल्यभन्दा सस्तो दरमा चामल उपलब्ध गराइए पनि सूचनाको पहुँच सबै सेवाग्राहीसम्म पुग्न नसक्दा कतिपय उपभोक्ता भने सहुलियत कार्यक्रमबाट लाभ लिन वञ्चित भएको देखिएको छ। आगामी दिनमा सहुलियत बिक्री कार्यक्रमबारे स्थानीय तह, सञ्चारमाध्यम तथा सरोकारवाला निकायमार्फत व्यापक सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यस प्रकारका सहुलियत कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सूचना प्रवाहलाई सुदृढ गर्दै दुर्गम बस्तीका नागरिकसम्म पहुँच विस्तार गर्नु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!