ओखलढुंगा । सुनकोशी गाउँपालिकामा आउँदो बैशाख १९ गतेबाट ‘सुनकोशी गाउँपालिका खुल्ला अध्यक्ष कप खेलकुद प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बुद्ध जयन्तीको अवशर पारेर पालिकाले खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । गाउँपालिका अध्यक्ष कमल तामाङले आज (मंगलबार) सदरमुकाममा पत्रकार सम्मेलन गर्दै खेलकुद प्रतियोगिता बारे जानकारी दिए ।
जस अन्तरगत अध्यक्ष कपमा खुल्ला पुरुष फुटबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछन । बैशाख १९ गतेबाट सुनकोशी गाउँपालिका ५ स्थित मुलखर्कको खेल मैदानमा फुटबल प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय पुरस्कार राशी क्रमश नगद रु १ लाख, ५० हजार, ३० हजार नगद सहित शिल्ड र प्रमाणपत्र रहने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै बैशाख २० गतेबाट सुरु हुने खुल्ला ए लेबल पुरुष डबल ब्याडमिटन्टको पुरस्कार राशी प्रथम, द्धितिय र तृतिय क्रमश ५० हजार, ३० हजार, २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र रहने गाउँपालिका अध्यक्ष तामाङले बताए । त्यस्तै ब्याडमिन्टनकै बि लेबल तर्फ ४० हजार, ३० हजार, २० हजार र दिग्गज (४५ वर्ष माथिका) लागि ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र रहने बताईएको छ ।
दुवै प्रतियोगितामा उत्कृष्ट, अनुशाशित लगायतका खेलाडीलाई समेत पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तामाङले खेल क्षेत्रको विकास संगै प्रतियोगिता भब्य र सभ्य बनाउन सरोकारवाला सबैलाई आवश्यक सहयोग तथा समन्वय गर्न समेत आग्रह गरे ।
खेलमैदान निर्माणको काम समेत भर्खरै सकिएकाले प्रतियोगता १९ गतेबाट सञ्चालन गर्न लागिएको उनको भनाई छ । प्रतियोगितामै खेलाडीहरुको प्रोत्साहनका लागि गाउँपालिका भित्रका राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिने तामाङले बताए ।