• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका विकास योजना तथा कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा आज (बुधबार) सम्पन्न भएको छ। जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रम जिल्लाको समग्र विकास अवस्थाको मूल्याङ्कन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका स्थानीय तह, विषयगत तथा विकासे कार्यालयहरूले आ–आफ्नो क्षेत्रअन्तर्गत हालसम्मको बजेट खर्च, भौतिक तथा वित्तीय प्रगति, कार्यान्वयनको अवस्था, आगामी योजना तथा कार्यान्वयनका क्रममा भोग्नुपरेका समस्या र चुनौती, समस्या समाधानको पहल बारे विस्तृत प्रस्तुति दिएका थिए।

प्रस्तुत विवरणअनुसार कतिपय योजनाहरू निर्धारित समयसीमाभित्रै सन्तोषजनक रूपमा अगाडि बढिरहेको जनाइएको छ भने केही योजनाहरूमा भने विभिन्न कारणले अपेक्षित प्रगति हासिल हुन नसकेको देखिएको छ। विशेषगरी प्राविधिक जनशक्तिको अभाव, बजेट निकासा प्रक्रियामा ढिलाइ, ठेक्का व्यवस्थापनका जटिलता, भौगोलिक विकटता तथा समन्वयको कमी जस्ता कारणले योजना कार्यान्वयनमा प्रभाव परेको सरोकारवालाहरूले औंल्याएका छन्।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तीन तहबीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै समयमै योजना सम्पन्न गर्न आवश्यक नीतिगत तथा व्यवहारिक सुधार गर्नुपर्ने धारणा राखेका थिए।

त्यसैगरी, समीक्षा कार्यक्रममा आगामी अवधिमा कार्यसम्पादनलाई थप परिणाममुखी बनाउने, ढिलाइ भएका योजनालाई तीव्रता दिने तथा देखिएका समस्या समाधानका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अर्धवार्षिक समीक्षा कार्यक्रमले जिल्लाको विकास गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!