ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सञ्चार क्षेत्रलाई असर पार्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती मार्फत ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको नेपाली सञ्चारमाध्यमले देशको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ। सत्य, निष्पक्षता र पारदर्शिताको पक्षमा उभिँदै सञ्चारमाध्यमले शासन प्रणालीलाई उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्याएको पनि महासंघले जनाएको छ।
तर संघीय सरकारको गत चैत्र १९ गतेको निर्णयअनुसार सरकारी विज्ञापन तथा सूचना केवल सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्ने नीतिले निजी तथा स्थानीय सञ्चारमाध्यमलाई थप कमजोर बनाउने खतरा देखिएको महासंघको ठहर छ। उक्त निर्णय कार्यान्वयनमा आएपछि जिल्लामा सञ्चालनमा रहेका रेडियो, पत्रपत्रिका तथा अनलाइन मिडियाहरू आर्थिक संकटमा पर्ने र बन्द हुने जोखिम बढेको उल्लेख गरिएको छ।
यस्तो संवेदनशील विषयमा सरोकारवालासँग पर्याप्त छलफल नगरी गरिएको निर्णयले सञ्चार क्षेत्रलाई झन् समस्यामा धकेल्ने बताइएको छ। नेपाल पत्रकार महासंघ केन्द्रको निर्णयअनुसार जिल्लाबाट समेत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको जनाइएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मग्रातीले विषय गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन्। उनले तत्कालै सम्बन्धित निकाय र केन्द्र सरकारसमक्ष पठाइने तथा आवश्यक पहल गरिने बताए।


