रामेछाप: जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर नेपाल सरकारले २०८० सालमा जारी गरेको सार्वजनिक बिदाको दिनमा पनि कार्यालयबाट निरन्तर सेवा सञ्चालन गर्ने जनाएको हो ।
नेपाल सरकारले २०८९ साल चैत्र २ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न पर्व तथा दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर रामेछाप प्रशासनले नेपाल सरकारले दिएको सार्वजनिक बिदाको दिनमा समेत निरन्तर सेवा प्रवाह गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे बताए ।
जसअन्तरगत उभौली,चण्डी पूर्णिमा,वैशाख पूर्णिमा,रक्षा बन्धन,श्रीकृष्ण जन्माष्टमी,घटस्थापना,क्रिसमस,उभौली,योमरी पुन्य,ज्यापु दिवस,ध्यान्य पूर्णिमा,तमु ल्होसार,माघी पर्व,सोनाम ल्होसार,महाशिवरात्रि,ग्याल्पो ल्होसार,इद उल फित्र,बकर इद,गणतन्त्र दिवस,जनयुद्ध दिवस,राष्ट्रिय प्रजातन्त्र दिवस,अन्तर्राष्ट्रिय महिला दिवस,बुद्ध जयन्ती तथा पृथ्वी जयन्ती लगायत सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने जनाए ।
सार्वजनिक बिदाको दिनमा नागरिकता,राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह हुने कार्यालयले जनायो ।