ओखलढुंगा । प्राविधिक शिक्षा, पर्यटन प्रर्वद्धन र कृषीलाई ब्याबसायिक बनाउने नीति तथा कार्यक्रम निर्माण गर्न सिद्धिचरण नगरपालिकालाई सरोकारवालाहरुले सुझाब दिएका छन । नगरपालिकाले आज (बुधबार) आयोजना गरेको आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो सुझाब दिएका हुन ।
कार्यक्रममा सहभागीहरुले विशेष गरी शिक्षा, पर्यटन र कृषीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरिनुपर्ने बताएका छन । प्राविधिक शिक्षालाई जोड दिएर शिक्षा क्षेत्रको सुधारका लागि थप प्रभावकारी कार्यक्रमहरु ल्याउन उनिहरुहले नगरपालिकालाई सुझाएका छन । त्यस्तै कृषीलाई आधुनिक र ब्यवासायिक बनाउने र सम्भावित पर्यटकिय गन्तब्यहरुको पहिचान गरी पर्यटन प्रवद्र्धन हुने खालका नीति तथा कार्यक्रम बनाईनुपर्ने उनिहरुको सुझाब छ ।
भौतिक पूर्वाधार निर्माण संगै पालिकाभित्र निर्माणाधिन विभिन्न आयोजनाहरु पुरा गर्नुपर्ने, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, विभिन्न जातिय परम्परा तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, स्थानीय स्तरमै रोजागरी सिर्जनाआदीलाई समेत मध्यनजर गर्दै बजेट ब्यवस्थापन गर्न पनि उनिहरुले सझाब दिएका छन ।
कार्यक्रममा नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले स्थानीय र सरोकारवालाहरुको सुझाबलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरिने बताएका छन । स्थानीय सरकारबाट सम्भव नभएका आयोजनाहरु सम्पन्न गराउन प्रदेश र केन्द्र सरकार समक्ष पहल गरिने उनको भनाई थियो ।