ओखलढुंगा । १६ औँ गणतन्त्र दिवश को अवशरमा आज (सोमबार) जिल्ला कारागार ओखलढुंगाका ३ जना कैदीबन्दी रिहा भएका छन । असल चालचलन भएका र तोकिएको सजायको कम्तीमा ५० प्रतिसत सजाय भुक्तान गरिसकेका विभिन्न प्रकृतिका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने सरकारी निर्णय संगै उनिहरु रिहा भएका हुन । दिवशको अवशरमा कारागारबाट ३ जना कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिसलाई छानबिन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैन्दीबन्दी रिहा गरेको हो ।
जिल्ला कारागारबाट आम माफी पाउने कैदीबन्दीहरुमा सिद्धिचरण नगरपालिका १ का कर्तब्य ज्यान मुद्धाका दोषी ३७ बर्षिय नबराज बस्नेत रहेका छन । सर्वोच्च अदालतले २० वर्षको जेल सजाय तोकिएका उनले २०६९ भदौ १४ गतेदेखि जेल जिबन बिताईरहेका थिए । उनले हालसम्म तोकिएको सजायको ५३.७० प्रतिसत (१० वर्ष ९ महिना) सजाय भुक्तान गरिसकेका थिए भने उनको ४६.३० प्रतिसत (९ वर्ष ३ महिना) सजाय माफी भएको हो ।
त्यस्तै सवारी ज्यान मुद्धामा उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगाबाट ३ वर्षको कैद सजाय तोकिएका सिनपा १० का कमलबहादुर थापामगर भनिने ३२ बर्षिय कमल मगरको पनि बाँकी सजाय मिनाहा भएको छ । २०७८ बैशाख ९ गतेदेखी जेल परेका उनले ६९.८६ प्रतिसत (२ वर्ष १ महिना ५ दिन) सजाय भुक्तान गरिसकेका थिए भने उनको ३०.१४ प्रतिसत (१० महिना २५ दिन) सजाय मिनाहा भएको जिल्ल्ला कारागार ओखलढुंगाका निमित्त जेलर नरेन्द्रलाल कर्णले जानकारी दिए ।
त्यस्तै सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ११ घर भई जिल्ला कारागार ओखलढुंगामा जेल जिवन विताईरहेका ३५ बर्षिय गजेन्द्र भुजेल पनि रिहा भएका छन । उनलाई नकबजनी चोरी मुद्धामा उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगाले ३ वर्षको कैद सजाय तोकेको थियो । २०७८ पौष ९ गतेदेखि जेल सजाय भोगिरहेका उनले ५२.९७ प्रतिसत (१ वर्ष ७ महिना ५ दिन ) सजाय भुक्तान गरेको र ४७.०३ प्रतिसत (१ वर्ष ४ महिना २५ दिन) सजाय माफी भएको जिल्ला कारागार ओखलढुंगाले जनाएको छ ।