ओखलढुंगा । आज (मंगलबार) बाट जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । सप्ताहको उद्घाटनको अबसर पारेर मंगलबार जिल्लाको जाल्पा मन्दिर नजिकवाट सदरमुकाम स्थित बसपार्क सम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रमलाई बर्षाले अबरुद्ध गरेपनि बसपार्कमा एक कार्यक्रमका बीच सप्ताहको उद्घाटन गरिएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको ब्यबस्थापनमा कार्यक्रम उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । ट्राफिक सप्ताह कार्यक्रमको सिद्धिचरण नगरपालिकाका प्रमुख मेयर तेजेन्द्र खनालले उद्घाटन गरेका हुन् ।
सर्वसाधारण र सवारी चालकहरुका लागि ट्राफिक नियमबारे सचेतना जगाउने र सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले हरेक वर्ष ट्राफिक सप्ताह आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए ।
ट्राफिक सप्ताहको कार्यक्रम मार्फत यस अबधीमा ट्राफिक नियमबारे सचेतना जगाउने, अनुशासन उलंघन गरेमा कारवाही गर्ने र सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रममा सिद्धिचरणका प्रमुख तेजेन्द्र खनाल तथा उप प्रमुख केदारबाबु बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारी कार्यालयका प्रतिनिधि, विद्यालयका विद्यार्थी, शिक्षक एवम् सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।