ओखलढुंगा । स्तनपायी आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धबद्र्धक जटिबुटी सम्बन्धि महिला स्वास्थ्य स्वयसेविकाहरुलाई एक दिने अभिमूखीकरण दिईएको छ । जिल्ला आयुुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाले नगरपालिका भित्रका २ वटा वडाका महिला स्वास्थ्य स्वयसेविकाहरुलाई अभिमूखीकरण दिएको हो ।
आज (बिहीबार) कार्यालयकै सभाहलमा भएको कार्यक्रममा सिनपा स्थित ९ र १० नम्बर वडाका स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमूखीकरण गराईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख उद्धब भट्टराईले जानकारी दिए । स्तनपान गराईरहेका आमाहरुलाई स्वयमसेविकाहरु मार्फत दुग्धबद्र्धक जटिबुटी सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यस्तै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको स्वयमसेविकाहरु मार्फत नै एकिन विवरण संकलन गर्नको लागि पनि कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सक रबिन्द्र सुवालले आयुर्वेद स्वास्थ्य केन्द्रबाट हालसम्म प्रवाह भएका सेवाहरु बारे जानकारी गराएका थिए । त्यस्तै स्वस्थ रहन सेवन गर्नुपर्ने आहारहरु, रोगप्रतिरोधात्मक क्षमता बढाउन खानुपर्ने जटिबुटी जन्य औषधीहरु, भोजन तथा भोजन बिधि, विभिन्न थेरापी बिधि र यसका फाईदा बारे जानकारी गराएका थिए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखा प्रमुख पवन लामाले स्वस्थ रहनको लागि अपनाउनु पर्ने आवश्यक उपायहरु बारे प्रष्ट पारेका थिए । अभिमुखिकरण कार्यक्रम अन्य वडाका स्वयमसेविकाहरुका लागि पनि पुन सञ्चालन गरिने बताईएको छ ।