ओखलढुङ्गाः बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका १ वलखुका ज्ञानिन्द्र सापकोटा करिब ६ महिनापछि पक्राउ परेका हुन् ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ली. ओखलढुङ्गाका तत्कालीन शाखा प्रमुख रहेका सापकोटाले संस्थाका २ सय ५७ जना सदस्यहरूको किर्ते तमसुक सहित नक्कल कागजात तयार पारेर करिब ३ करोड ८४ लाख ३९ हजार ३ सय ६० रुपैयाँ हिनामिना गरेका थिए ।
संस्थाका सदस्यहरूको नक्कली कागजात तयार पारेर करोडौँ रुपौया हिनामिना गरेको आरोपमा ज्ञानिन्द्र सापकोटा विरुद्ध संस्थाका सदस्य वैकुण्ठ लुइँटेलले ओखलढुङ्गा प्रहरीमा जाहेरी दर्ता गराएका थिए । लुइँटेलको जाहेरीका आधारमा बैङ्किङ कसुर गरेको ठहर गर्दै उच्च अदालत विराटनगर वाट २०७९ साल चैत्र १५ गते पक्राउ आदेश जारी भएको थियो ।
अदालतको आदेश लगत्तै फरार रहेका सापकोटालाई गत भदौ १० गते काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १० कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वलिस्टर सिंहले जानकारी दिए ।
पक्राउ गरेका उनलाई आवश्यक कारबाहीका लागी सोमबार (आज)उच्च अदालत बिराटनगर मोरङमा पेश गरिएको प्रहरीले जनाएको छ ।