असोज १०। सुनकोशी गाउँपालिकाका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा नं। १० का वडा अध्यक्ष छविरमण धमला रहेका छन् ।
वडा अध्यक्ष धमलाले सोहि स्थानकी अन्दाजी बर्ष २५ की एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । सोहि मुद्दा अनुसार नै वडा अध्यक्ष धमलालाई सिद्धिचरण नगरपालिकाबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
प्रहरीले वडा अध्यक्ष धमलालाई पक्राउ गरि आजै जिल्ला अदालत पुर्याएको थियो । जिल्ला अदालतबाट सातदिने म्याद थप गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।