ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले ओखलढुंगाको बजार क्षेत्र आगलागीको उच्च जोखिममा रहेको भन्दै यस तर्फ सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिएका छन । आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सदरमुकाममा आयोजना गरेको “नागरिक सुनुवाई कार्यक्रम”का सहभागीहरुले यस्तो बताएका हुन ।
हाल सुख्खा मौसम र हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा आगलागी र वन डढेलोको घटना बढिरहेको भन्दै यस विषयलाई सबैले गम्भीर रुपमा लिनुपर्ने सुझाएका छन । वन जंगलमा मानिसको लापरबाही र कतिपय अवस्थामा जानीजानी समेत आगो लगाउने कार्य भएको हुन सक्ने भन्दै उनिहरुको पहिचान गरी कानुनी दायरमा ल्याईनुपर्ने उनिहरुको सुझाब छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष विनोद ताम्राकारले गत वर्ष पनि सदरमुकाम नजिकैको जंगलमा लागेको ढडेलोले निकै दुख दिएको बताए । आगलागी जोखिमको नियन्त्रणका लागि स्थानीय सरकारले सक्दो पहल गरेको भएपनि सिमित स्रोत साधन र कानुनी प्रावधानका कारण पर्याप्त नभएकाले त्यसतर्फ अधिकार प्राप्त निकाय थप जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघ ओखलढुंगा उपाध्यक्ष पुर्णकुमार श्रेष्ठले विशेष गरी सिनपा ११ र १२ को बजार क्षेत्र जंगल भन्दा माथी अवस्थित रहेकाले जंगलमा आगो लागे बजार क्षेत्रमा पस्ने उच्च सम्भवाना रहेको बताए । उक्त सम्भावित जोखिमको नियन्त्रणका लागि जंगलमा अग्नी रेखा निर्माण जस्ता विषयहरु यस अघि नै उठेको भएपनि वनको कानुनी प्रावधानका कारण समस्या उत्पन्न भएको भन्दै सम्बन्धित निकाय त्यसप्रति गम्भीर हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा स्थानीय ध्रुवकुमार राजभण्डारीले प्रहरीको तथ्यांक अनुशार जिल्लामा आपराधिक घटनामा कमी आईरहेको भए पनि विशेष गरी सदरमुकाममा हुनसक्ने आगलागी नियन्त्रणका लागि सम्बन्धित सबै निकायले थप पहल गर्नुपर्ने बताए । जिल्लामा हराउने मानिसको संख्या समेत बढ्दै गएकाले तिनीहरुको खोजी गर्न र बैदेशिक रोजगारीमा ठगिनेहरुलाई न्याय दिलाउने कार्यमा समेत प्रहरी अग्रसर हुनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा सिनपा ९ का वडा अध्यक्ष गुणबहादुर खड्काले बजार क्षेत्रको पार्किङ ब्यवस्थापनमा पनि चासो दिन आवश्यक रहेको बताए । सगरमाथा जनता माविका शिक्षक बिमल श्रेष्ठले सदरमुकाममा ट्राफिक ब्यवस्थापन र बस पार्कको नियमित सञ्चालनमा पनि ध्यान दिईनुपर्ने बताए ।
कार्यक्रममा उठेका स्थानीय सरकार संग सम्बन्धित जिज्ञासा र सुझावहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) र नगर उपप्रमुख केदारबाबु बस्नेतले सम्बोधन गरेका थिए । कार्यक्रममा उठेका कतिपय जिज्ञासाको सम्बोधन गर्दै मेयर खनालले जिल्लाका विभिन्न ठाउँमा डढेलो लागिरहेको भएपनि नियन्त्रण गर्ने आवश्यक स्रोत साधन नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता रहेको बताए ।
जसले गर्दा यस्ता विषयमा सबैभन्दा पहिले आम नागरिक नै सचेत हुनुपर्ने उनको भनाई थियो । सदरमु्काममा अब्यवस्थित पार्किङको विषयमा उनले आफ्नो पसल ब्यवसाय अगाडी पार्किङ गर्न नदिईए ब्यापार नै हुँदैन भन्ने केहि ब्यबसायीहरुमा एक खालको भ्रम रहेकाले पनि ब्यवस्थापनमा चुनौती थपिएको बताए । यी र यस्ता खाले समस्याहरु स्थानीय नागरिक कै सहयोगमा मात्र समाधान हुने भएकाले आम नागरिकले आ आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नगर उपप्रमुख केदारबाबु बस्नेतले नगरपालिका संग सम्बन्धित गुनासो र सुझावहरुलाई मनन् गर्दै त्यस्को समाधानका लागि आवश्यक स्रोत साधनको तत्काल परिचालन गरिने बताए । जिल्लामा आगलागी जस्ता विपद संगै आत्महत्याको दर समेत बढिरहेकाले त्यसको न्यूनिकरणका लागि प्रहरी संगै सहकार्य गरेर आवश्यक उपाय खोजिने उनको भनाई थियो ।
कार्यक्रममा उठेका धेरैजसो गुनासोहरुको सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी प्रमुख (डीएसपी) कृष्ण खड्काले धेरैजसो गुनासोहरु आम नागरिकहरु संगै सम्बन्धित रहेको भन्दै नागरिकहरु नै अग्रसर हुनुपर्ने देखिएको बताए । नागरिक कै सकारात्मक पहल ले मात्रै यी र यस्ता खाले समस्या समाधान हुने उनको भनाई थियो ।
उनले प्रहरी हरपल आम नागरिकको सम्पर्कमा रहने भएकाले आम नागरिककै साथ र सहयोगले मात्रै प्रहरीको कार्यमा थप सफलता मिल्ने बताए । स्थानीय सरकार र सर्वसाधरण सबै संग सहकार्य गरेर नै प्रहरी अगाडी बढ्ने समेत उनको भनाई थियो । प्रहरी संग सम्बन्धित कार्यक्रममा उठेका गुनासोहरुको तत्काल समाधान गरिने पनि उनले बताए ।