ओखलढुंगा । ओखलढुंगामा आगलागीमा परी आमा छोराको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५५ वर्षिया पुन्यमाया धमला र निजको १६ वर्षिय छोरा कन्चन धमला रहेका छन ।
आइतबार सोही स्थानको बसाहा हरीबोले सामुदायिक बनमा आगलागी भएको थियो । उक्त आगो आज (सोमबार) झनै फैलिएर गाउँ नजिकैको खरबारीमा समेत पसेको प्रहरीले जनाएको छ ।
आगो फैलिएर खरबारीमा काटेर राखेको खर जल्ने आबस्था आएपछि निजहरुले खरलाई स्थानान्तर गर्न थालेका थिए । सोही क्रममा आगोको ज्वालामा परी जलेर उनिहरुको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेकाले घटनाको बिस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।