गत फागुन २१ गते सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट ओखलढुंगाबाट निर्वाचित भएका सांसद हुन् विश्वराज पोखरेल । नेपाल प्रहरीका पूर्व एआइजी समेत रहेका उनले आफ्ना मुख्य प्रतिद्धन्दी नेपाली कांग्रेसका कुमार लुईँटेललाई ५ मतको झिनो अन्तरले पराजित गरेका थिए । फागुन २४ गते प्रत्यक्ष तर्फको अन्तीम मत परिणाम आएसंगै बिहान करिब ११ बजेतिर उनी आधिकारिक रूपमा निर्वाचित घोषित भएर प्रमाणपत्र लिएका थिए । त्यसपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मिडिया मार्फत मतदाताहरुलाई धन्यवाद ज्ञापन गरे । निर्वाचन हुनुभन्दा करिब ४ महिना अघि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर पार्टीको संगठन विस्तारमा लागेका उनले जसरी भोट माग्न जनताको घरदैलोमा पुगेको थिएँ केही समय पछि त्यसरी नै नागरिकको समस्या बुझ्न घरदैलोमा पुग्छु भन्ने वाचा गरेका थिए ।
निर्वाचनको नतिजा सार्वजनिक भएसँगै ओखलढुंगामा मात्र होइन, काठमाडौंमा बसोबास गर्दै आएका ओखलढुंगेलीहरूमाझ पनि उनको जितलाई लिएर विशेष उत्साह देखिएको थियो । सोही उत्साहलाई सम्बोधन गर्दै उनले काठमाडौंमै एक कार्यक्रम आयोजना गरी त्यहाँ रहेका ओखलढुंगेलीहरुसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए । उक्त कार्यक्रममा उनले निर्वाचनमा पाएको समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै अबको यात्रा परिणाममुखी हुने संकेत गरेका थिए ।
त्यतिबेलैदेखि उनको व्यक्तित्व र सम्भावित भूमिकाबारे विभिन्न अड्कलबाजीहरु सुरु भएका थिए । विशेषगरी उनी पूर्व प्रहरी उच्च अधिकारी भएको अनुभवका आधारमा उनलाई गृहमन्त्री बनाइने सम्भावनाबारे नागरिक तहदेखि राजनीतिक वृत्तसम्म चर्चा चलेको थियो । ओखलढुंगाले लामो समयपछि संघीय सरकारमा प्रभावशाली मन्त्रालय पाउने सम्भावना देखिएको भन्दै कतिपय मतदातामा उत्साह समेत थपिएको थियो । “यदि उनी गृहमन्त्री भए भने जिल्लाको विकासमा ठूलो टेवा पुग्न सक्छ” भन्ने अपेक्षा खुलेरै व्यक्त गरिएको थियो ।
निर्वाचन परिणाम आएको दिन नै केही सञ्चारकर्मीहरुले उनलाई ‘अबको गृहमन्त्री तपाईं नै हो?’ भन्ने प्रश्न समेत गरेका थिए । त्यसबेला उनले निकै संयमित प्रतिक्रिया दिँदै भनेका थिए—मेरो अनुभव र क्षमताका आधारमा पार्टीले जुन भूमिका दिन्छ, म त्यही जिम्मेवारी अनुसार अघि बढ्नेछु, मलाई यो वा त्यो पद देऊ भनेर मेरो कुनै माग रहने छैन । उनको यो अभिव्यक्तिले एकातिर परिपक्वता झल्काएको थियो भने अर्कोतिर सम्भावनाको ढोका खुल्लै राखेको सन्देश दिएको थियो ।
तर निर्वाचन भएको एक महिना भन्दा बढी समय बितिसक्दा पनि उनी अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्र ओखलढुंगा फर्किएका छैनन् । चुनावअघि घरदैलोमा पुगेर गरेका वाचा, नागरिकसँगको प्रत्यक्ष सम्बन्ध र समस्या बुझ्ने प्रतिबद्धता यतिबेला पुनः स्मरण गरिन थालेको छ । समय बित्दै जाँदा जिल्लामा उनको अनुपस्थितिले अहिले सामाजिक सञ्जालमा व्यापक चासो र खोजीको विषय बनेको छ ।
फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा स्थानीय नागरिकहरुले विभिन्न शैलीमा आफ्नो प्रतिक्रिया जनाइरहेका छन् । कसैले ‘सांसद हराएको सूचना’ भन्दै व्यङ्ग्यात्मक पोस्ट गरेका छन् भने कसैले ‘कता हुनुहुन्छ?’ भन्दै सीधा प्रश्न गरेका छन् । कतिपयले चुनावअघि देखिएको सक्रियता र अहिलेको मौनतालाई तुलना गर्दै आलोचना गरेका छन् भने केहीले व्यस्तताको कारण हुन सक्ने भन्दै धैर्य गर्नुपर्ने धारणा पनि राखेका छन् ।
सांसदको अनुपस्थितिलाई लिएर उठेका यी प्रश्नहरु केवल व्यक्तिगत आलोचना मात्र होइनन्, प्रतिनिधित्वको अभ्यासमाथिको बहस पनि हुन् । नेपालमा निर्वाचन जितेपछि सांसदहरुले आफ्नो क्षेत्रमा फर्केर धन्यवाद दिने, स्थानीय सरोकारवालासँग भेटघाट गर्ने र प्राथमिकताका मुद्दाहरु पहिचान गर्ने अभ्यास लामो समयदेखि रहँदै आएको छ । यही सन्दर्भमा हेर्दा ओखलढुंगामा देखिएको अवस्था केही फरक देखिएको छ ।
विश्वराज पोखरेलप्रति जनताको अपेक्षा सामान्यभन्दा केही बढी हुनु स्वाभाविक पनि हो । उनी केवल एक उम्मेदवार मात्र होइनन्, ‘नयाँ विकल्प’को प्रतीकका रूपमा प्रस्तुत भएका व्यक्ति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण, पुराना दलहरुप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनाबीच उनी निर्वाचित भएका हुन् । त्यसमाथि सुरक्षा निकायमा लामो अनुभव बटुलेको पृष्ठभूमिले उनलाई कार्यक्षमताका आधारमा पनि फरक ढंगले हेरिएको छ ।
यही कारणले गर्दा उनको हरेक कदमप्रति चासो पनि त्यत्तिकै बढेको देखिन्छ । चुनाव जितेपछि तत्काल क्षेत्रमै फर्किएर जनतासँग संवाद सुरु गर्ने अपेक्षा गरिएको थियो । तर त्यो नहुँदा अहिले देखिएको असन्तुष्टि विस्तारै प्रश्नमा र प्रश्नबाट बहसमा रुपान्तरण हुँदै गएको छ ।
यद्यपि, केही पक्षले भने संघीय संसदको काम, पार्टीभित्रको जिम्मेवारी तथा केन्द्रमा भइरहेको राजनीतिक प्रक्रियालाई कारण देखाउँदै उनको अनुपस्थितिलाई स्वाभाविक ठान्नुपर्ने तर्क पनि अघि सारेका छन् । तर आलोचकहरु भन्छन्—जति नै व्यस्तता भए पनि आफ्नै निर्वाचन क्षेत्रसँगको सम्पर्कलाई प्राथमिकतामा राख्नु पर्ने हो ।
यसले फेरि पनि एउटा ठूलो प्रश्न उठाएको छ—के नयाँ पुस्ताका नेताहरुले पुरानो राजनीतिक शैली तोड्न सकेका छन् त? निर्वाचनअघि जनताको घरदैलोमा पुग्ने र पछि सम्पर्क कमजोर हुने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन । तर नयाँ अनुहार र नयाँ पार्टीबाट फरक अभ्यासको अपेक्षा गरिएको थियो ।
यद्यपि, यो सम्पूर्ण घटनाक्रमले एउटा सकारात्मक संकेत पनि दिएको छ—जनता अब चुप लागेर बस्ने अवस्थामा छैनन् । सामाजिक सञ्जालमार्फत उनीहरुले आफ्ना प्रतिनिधिलाई प्रत्यक्ष प्रश्न गरिरहेका छन्, जवाफदेहिताको माग गरिरहेका छन् । यो लोकतान्त्रिक चेतनाको विस्तारकै संकेत हो ।
अबको अवस्था हेर्दा सांसद पोखरेलका लागि यो समय चुनौतीसँगै अवसर पनि हो । यदि उनले चाँडै नै जिल्लामा आएर जनतासँग प्रत्यक्ष संवाद सुरु गरे, आफ्ना योजना र प्राथमिकताहरु स्पष्ट रुपमा राखे भने अहिलेको आलोचना विश्वासमा बदलिन सक्छ । तर यदि मौनता लम्बिँदै गयो भने सामाजिक सञ्जालमा देखिएको असन्तुष्टि थप गहिरिँदै जाने सम्भावना पनि उत्तिकै छ ।
ओखलढुंगामा अहिले उठिरहेको ‘सांसद कहाँ छन्?’ भन्ने प्रश्न सतही जिज्ञासा मात्र होइन, यो प्रतिनिधित्व, जिम्मेवारी र विश्वासको प्रश्न हो । चुनावअघि गरिएका वाचा र चुनावपछिको व्यवहारबीचको दूरी कति हुन सक्छ भन्ने बहस पनि यहीसँग जोडिएको छ ।
प्रयासको संकेत देखिन बाँकी छैन, तर कार्यान्वयनमा ढिलाइ भएको अनुभूति नागरिकमा स्पष्ट देखिन्छ । अबका दिनमा केवल सांसदको सक्रियता मात्र होइन, नागरिकको निरन्तर खबरदारी र चासोले पनि लोकतन्त्रलाई थप जिम्मेवार र उत्तरदायी बनाउनेछ।


