ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको समयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न निर्वाचन कार्यालयलाई सञ्चारकर्मीहरुले सुझाएका छन । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले आज (बिहीबार) आयोजना गरेको मिडिया अभिमूखीकरण सम्बन्धि कार्यक्रममा उनिहरुले यस्तो सुझाव दिएका हुन ।
कार्यक्रममा पत्रकार शिव ढुंगानाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना संकलनमा निकै कठिनाई उत्पन्न भएको भन्दै आउँदो चुनावमा सहज वातावरण सिर्जना गर्ने कुरामा आवश्यक पहल गर्न अनुरोध गरे । मतदान तथा मतगणनाको समयमा सिमित अवधीको लागि भएपनि पत्रकारहरुले समाचारका लागि आवश्यक फोटो तथा भिडियो सहज रुपमा लिन पाउनुपर्ने उनको भनाई थियो । सञ्चारकर्मीहरुलाई मतदान र मतगणनाको सुचना सकेसम्म चाँडो र एकद्धार प्रणालीबाट दिन सके सत्यतथ्य समाचार सम्प्रेषणमा सहज हुने उनले बताए ।
त्यस्तै अर्का पत्रकार वि.एन.श्रेष्ठले सम्बन्धित मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुसंग आवश्यक सुचना लिन खोज्दा फोन नै नउठाउने जस्ता समस्या भोग्नुपरेको भन्दै आउँदो निर्वाचनमा यस विषयमा पनि कार्यालयले मतदान अधिकृतहसंग आवश्यक छलफल गर्नुपर्ने बताए । जसले गर्दा सुचना दिन र लिन सहज हुने उनको भनाई थियो ।
कार्यक्रममै पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष लाक्पा जी शेर्पाले निर्वाचन आचार संहिता लागु गर्ने र गराउने कुरामा आफुहरु सचेत रहेको बताए । निर्वाचनको समयमा सञ्चार गृह तथा सञ्चारकर्मीहरुले सहजै समाचार संकलन गर्न पाउने कुरामा महासंघ विश्वस्त रहेको भन्दै शेर्पाले निर्वाचलनाई सफलतापुर्वक सम्पन्न गराउन महासंघ र पत्रकारहरुले निर्वाह गर्नुपर्ने भूमिका प्रति आफुहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा उठेका जिज्ञासा र सुझाबलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मिडियालाई दिनुपर्ने सूचनामा छिटपुट अपवाद बाहेक निर्वाचन अधिकृत, मतदान अधिकृत र सम्बद्ध निकायले सकारात्मक रुपले दिएको आफ्नो बुझाई रहेको बताए । आउँदो निर्वाचनमा सञ्चारकर्मीहरुलाई सूचना दिने कुरामा आफुहरुले सक्दो सहजिकरण गर्ने पनि उनले बताए ।
बिगतको निर्वाचनमा मतदानको दिन कतिपय मतदान अधिकृतहरुले आफुहरुको समेत फोन नउठाएको भन्दै उनले मतदान केन्द्रमा सानातिना समस्याहरु आईरहने हुनाले उनिहरु कुन समयमा कत्तिको प्रेसरमा छन भन्ने कुरालाई समेत बुझिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । मतदानको दिन समय समयमा निश्चित समय तोकेर सकेसम्म चाँडो सूचना दिने बातावरण मिलाउन समेत मतदान अधिकृतहरुलाई जानकारी गराईने पनि उनले आश्वासन दिए ।
त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष टिकाराम आचार्यले विगतको निर्वाचनमा सूचना दिने कुरामा भएको कमिकमजोरीप्रति आफुहरु सचेत रहेको भन्दै आउँदो निर्वाचनमा सञ्चारकर्मीहरुलाई समाचार संकलनको लागि सहज बातावरण बनाउन पहल गरिने बताए । त्यस्तै आगामी मंसीर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन जिल्लामा भयरहित, स्वच्छ र मर्यादित रुपमा सम्पन्न हुने कुरामा आफुहरु विश्वस्त रहेको बताउँदै यसका लागि सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।
जिल्ला प्रसासन कार्यालयको सहभाहलमा भएको अभिमूखिकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका बारे प्रष्टयाएका थिए ।
उनले निर्वाचन पर्यवेक्षण, निर्वाचनमा सबैले पालना गर्नुपर्ने सामान्य आचरण, दल तथा उम्मेवारले सञ्चारमाध्ययमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, प्रेस अफिसको व्यबस्था, सञ्चारमाध्ययम अनुगमन, आचार संहिता उल्लङघनमा हुने सक्ने कारबाही, निर्वाचन कसुर, आधिकारीक सुचनाको प्राप्तिलगायत बारे जानकारी दिएका थिए ।