ओखलढुंगा । दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजनाले जिल्लाका निर्वतमान महिला जनप्रतिनिधिहरुलाई पैरबी सम्बन्धि प्रशिक्षण दिएको छ । यस अघि परियोजना लागु भएका जिल्लाका ४ पालिकाका ४१ जना निर्वतमान महिला जनप्रतिनिधि (वडा सदस्य) हरुलाई लिड्स’ ले प्रशिक्षण दिएको हो । उनिहरुलाई विभिन्न ३ चरणमा प्रशिक्षण दिईएको ‘शी लिड्स’ परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बुना बिकले जानकारी दिईन ।
पछिल्लो चरणमा सदरमुकाममा गत कार्तिक २० गतेदेखी आज (मंगलबार) सम्म १३ जनालाई ३ दिनको प्रशिक्षण दिईएको थियो । जसमा मानेभञ्ज्याङ गाउँपालिकाका निर्वतमान उपाध्यक्ष सबिता राई र परियोजनाका प्रशिक्षक पेसलकुमार खत्रीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणले उनिहरुलाई नेतृत्वमा निखारता ल्याउनका साथै महिला सम्बन्धीको विभिन्न मुद्धामा वकालत गर्न समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
‘शी लिड्स’ को यस्ता खाले प्रशिक्षण र क्षमता विकास लगायतका तालिमले नेतृत्व तहमा हुँदा र भएमा आफ्नो जिम्मेवारी के हो भन्ने प्रष्ट पारेको सहभागीहरुको बुझाई छ । प्रशिक्षणमा सहभागी मानेभञ्ज्याङ गाउँपालिका ५ का निर्वतमान वडा सदस्य मायाँ राईले यो प्रशिक्षण आफुहरुका लागि निकै अपरिहार्य रहेको बताईन ।
आफुहरु हिजो सक्रिय भएर आजै निष्कृय हुनलाई मात्रै राजनीतिमा नआएको भन्दै प्रशिक्षणले आफुहरुको हक अधिकार प्राप्तिका लागि खबरदारी र पैरबी गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले बताईन । आफुमा भएको व्यक्तिगत क्षमता विकास कसैले खोसेर लान नसक्ने भएकाले सिकेका कुरा व्यवहारमा जसरी पनि लागु गरिने राईको भनाई छ ।
यता प्रशिक्षक सबिता राईले प्रशिक्षणमा पैरबी सम्बन्धि विभिन्न ७ चरणमा छलफल गरिएको भन्दै यो निकै महत्वपूर्ण रहेको बताईन । जसको जानकारी आफु निर्वाचित भएकै समयमा बुभ्mने मौका पाएको भए आफ्नो नेतृत्व झनै प्रभावकारी र सफल हुने उनले विश्वास ब्यक्त गरिन ।
आफुहरु स्थानीय तहको पहिलो निर्वाचित जनप्रतिनिधिहरु भएको र ५ वर्षको नेतृत्व अनुभव रहेकाले अहिले पदमा रहेपनि नरहेपनि समाजमा गर्नुपर्ने सकारात्मक परिर्वतणको जिम्मेवारी भने अझै बाँकी रहेको उनले बताईन । क्षमता भएमा जतिबेला र जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने भन्दै ज्ञान लिने र दिने कुरामा निरन्तर लागिरहन समेत उनले सहभागीहरुलाई आग्रह गरिन ।
प्रशिक्षण पश्चात सहभागीहरुलाई आ आफ्नो समुदायमा गएर जनचेतना फैलाउने, पैरबी गर्नेलगायतका जिम्मेवारी समेत दिईएको ‘शी लिड्स’ परियोजना ओखलढुंगाले जनाएको छ । यस अघि जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा गरी ४ पालिकामा सञ्चालित परियोजना अहिले चिसंखुगढी र चम्पादेवी गाउँपालिकामा समेत लागु गरिएको छ ।