ओखलढुंगा । आफ्नै बारीको कान्लाबाट लडेर १ जनाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ३ स्थित अँधेरीनारायणस्थानमा स्थानीय ६८ बर्षिय जसराज राईको ज्यान गएको हो ।
हिजो (शनिबार) दिउँसो देखी नै मापसे गरेको अवस्थामा गाउँमा भेटिएका राई राती घर फर्किएका थिएनन् । आज (आईतबार) बिहान उनकै जेठो छोराले आफ्ना नानीहरुलाई विद्यालय लैजाने क्रममा उनलाई आफ्नै बारीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) विकास राईले जानकारी दिए ।
घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको थियो । प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि (यो समाचार तयार गर्दा सम्म) जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।