ओखलढुंगा । निर्वाचन अघि उम्मेदवारहरु विभिन्न चुनावी एजेन्डा र प्रतिबद्धता लिएर आफुहरुलाई भोट दिन आग्रह गर्दै मतदाताको घरघरमा पुग्छन । तर निर्वाचित भैसकेपछि मतदाताको समस्या बुझ्न फर्केर पनि नजाने गरेको गुनासो नौलो भने होईन ।
यता केहि जनप्रतिनिधी भने चुनाव अघिको बाचा पुरा गर्न लागिपरेर उदाहरणिय बन्दै गएका छन । यस्तै उदाहरणीय जनप्रतिनिधी हुन सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकार । जसले चुनाव अघि आफु निर्वाचित भए वडा कार्यालयबाट आफुले पाउने सबै तलब भत्ता सामाजिक हितको काममा खर्चिने प्रतिबद्धता जनाएका थिए ।
सोहि अनुशार अहिले उनले वडा कार्यालयबाट पाएको तलब भत्ता सामाजिक हितको काममा खर्च गर्दै आएका छन । गत असोजमा मात्रै उनले वडाका ३२ जना अति बिपन्न, अशक्त, अपाङग र एकल महिलालाई टोलटोलमै पुगेर आफ्नै व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गरेका थिए ।
त्यसको केहि महिनापछि पुन वडाकै अति विपन्न २ परिवारलाई खाद्यान्न वितरण गरे । यसै क्रममा आज (बुधबार) फेरी उनले आफ्नै खर्चमा वडाका ३३ जना जेष्ठ नागरिक, अति बिपन्न, अशक्त, अपाङग र एकल महिलालाई ज्याकेट वितरण गरेका छन । वडा कार्यालयमै एक कार्यक्रमका बिच उनले ज्याकेट वितरण गरेका हुन ।
ज्याकेट वितरण गर्दै उनले नागरिकको सेवा गर्न नै आफुले चुनाव लडेको भन्दै वडाका नागरिकको सेवा नै आफ्नो पहिलो प्राथमिकता भएको बताए । केहि समय अघि नै आफुले ज्याकेट वितरण गर्ने तयारी गरेको भएपनि व्यक्तिगत समस्याका कारण अलि ढिलो भएको उनले बताए ।
आफुले गरेको यो सहयोगले चिसो मौसममा थोरै भएपनि राहत मिल्ने आफुले अपेक्षा गरेको उनले बताए । यस्ता प्रकारका अरु पनि सामाजिक कार्यहरु आफ्नो कार्यकाल अवधिभर गरिहरने बताउँदै उनले कुनै पनि समस्या परे तत्काल आफुलाई खबर गर्न पनि आग्रह गरे । वडा कार्यालय र ब्यक्तिगत रुपमै पनि आफुले सक्ने सहयोग गर्न जुनसुकै समयमा आफु प्रतिबद्ध रहेको उनको भनाई थियो ।
ज्याकेट वितरण कार्यक्रममै सहभागी स्थानीय तथा जालपा मावि गैरीगाउँका प्रधानाध्यापक रत्नबहादुर केसीले वडा अध्यक्ष ताम्राकारले चुनाव अघि गरेको बाचा अनुशार आफ्नो तलब भत्ताबाट सामाजिक हितको काम गर्दै आएकोमा यो काम निकै प्रसंसनिय रहेको बताए ।
यस प्रकारको उदाहरणिय कामले अन्य ठाउँमा पनि सकारात्मक शन्देश जाने भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक हितको काम निरन्तर हुनेछ भन्ने अपेक्षा ब्यक्त गरे ।
यता ज्याकेट पाउने जेष्ठ नागरिक, बिपन्न, अशक्त, अपाङग र एकल महिलाले पनि खुसी ब्यक्त गर्दै स्थानीय सरकार हामीसंंगै छ भन्ने अनुभूति गर्न पाएको बताएका थिए ।