• २०८१, ८ फाल्गुन बिहीबार
0 COMMENTS

ओखलढुंगा । परम्परागत बाँसबाट बनाईने र विशेष गरि गाउँघरमा दैनिक रुपमा प्रयोगमा आउने लोकप्रिय सामग्री हो नाङलो । बढ्दो आधुनिकताले जीवनशैली फेरिँदै गएपनि हरेक घर, भान्छाहरुमा नाङलोको लोकप्रियता उत्तिकै छ । सोहि परम्परागत शैलीको नाङलो बुन्ने र बेच्ने पेशा ओखलढुंगाको चुप्लुबासीका लागि आम्दानीको विकल्प हो । परम्परा देखि चल्दै आएको यो पेशाबाट सिंगो गाउँ आत्मनिर्भर बन्दै आएको छ ।

सिद्धिचरण नगरपालिका ५ स्थित चुप्लु गाउँ विशेष गरि बाँसको नाङलो उत्पादन गर्ने गाउँको रुपमा परिचित छ । छरिएको बस्ती र राई समुदायको बाहुल्यता रहेको यस गाउँमा ४६ घरपरिवारको बसोबास छ । अधिकांशको मुख्य पेशा खेती किसानी भएपनि फुर्सदको समयमा यहाँका सबैजसो बासिन्दा नाङलो बुन्ने गर्छन । झन्डै १ दर्जन स्थानीयले भने  नाङलो बुन्ने पेशालाई ब्यावसायिक नै बनाएका छन ।

पुस्तौँदखी चल्दै आएको नाङलो बुन्ने पेशाबाट नै उनिहरुको गुजारा चलिरहेको छ । आफ्नो बाजेको पालादेखी नाङलो बनाउने पेशा आफूहरुले अपनाउँदै आएको स्थानीय पुष्तराज राईले बताए । यहिँ पेशाबाट आफु र आफ्नो परिवारको खर्च धानिने गरेको उनको भनाई छ । अर्का स्थानीय राजकुमार राईले पनि आवश्यक ब्यक्तिगत खर्च यसैबाट पुगिरहेको बताए । नियमित रुपमा नाङलो बनाउनेहरुको त जिविकोपार्जन नै यहिँबाट हुने गरेको उनले बताए ।

नाङलो बनाउनका लागि मोली र चोया गरि २ प्रकारका बाँस आवश्यकता पर्छ । विगतमा गाउँबाट धेरै टाढा–टाढासम्म पुगेर बाँस किनेर ल्याउनुपथ्र्यो । तर अहिले स्थानीय आफैले बाँस रोपेका छन । जसले गर्दा अहिले बाँस खोजिरहनु पर्ने  झन्झटबाट उनिहरु मुक्त भएका छन । नाङलो बनाउनका लागि बाँस काट्ने, चोया तथा भाटा बनाउने, भिजाउने, सुकाउनेजस्ता थुप्रै प्रक्रिया पार गर्नुपर्छ ।

यसरी बनाईएको यहाँको नाङलो जिल्लामा त चर्चित छ नै पछिल्लो समय जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । ओखलढुंगामा मात्रै नभएर पछिल्लो समय उदयपुर, सोलुखुम्बु, काठमाण्डौ र रामेछापलगायतका जिल्लामा पनि लैजाने गरेको राजकुमारले बताए । यहाँ बुनिएको नाङलोलाई बजारको पनि खासै समस्या नहुने गरेको अर्का स्थानीय शन्तबहादुरर राईको भनाई छ । धेरै परिमाण भएको बेला ठेकेदारहरु घरमै लिन आउने गरेको उनले बताए ।

नाङ्लो बुन्न खासै अप्ठ्यारो पनि छैन । बाँसको चोयाबाट बनेको नाङलो टिकाउ हुने उपभोक्ताहरु बताउँछन । यहाँ बनाईएको नाङलो स्थानीय बजारमा प्रतिगोटा २ सय ८० देखी ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बाँसको नाङलो चुप्लुका राई समुदायको पुख्र्यौली पेशा र आम्दानीको गतिलो स्रोत पनि हो ।

यहाँ बनाईएको नाङ्लो जिल्लाभरी नै लोकप्रिय छ । माग पनि उत्तिकै हुने गरेकाले यसलाई उद्योगकै रुपमा अगाडी बढाएर यसको विकास, बिस्तार र संरक्षणमा जोड दिन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!