ओखलढुंगा । आधुनिक र वैज्ञानिक ढंगबाट बनाइएका खोरले ओखलढुंगाका कृषकहरूलाई परम्परागत पशुपालनबाट व्यवसायिक बाख्रापालनतर्फ उन्मुख गराएका छन् । सरसफाइ, व्यवस्थापन र स्वास्थ्य सुरक्षामा सुधार ल्याउने यस्ता संरचनाले उत्पादन क्षमतामा मात्र होइन, कृषकको सोच, दृष्टिकोण र जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।
सरकारी अनुदान र प्रविधिको सहायतामा गाउँमै सिर्जना भएका यस्ता अवसरहरूले पशुपालन गर्दै आएका कृषकहरूको आत्मनिर्भर बन्ने सोच थप बलियो बनाएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ खाटाका बिर्खराज राईले वैदेशिक रोजगारीका लागि तीन वर्ष साउदी अरबमा बिताए । स्वदेश फर्किएपछि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी पाँच वर्षदेखि बाख्रापालन व्यवसायमा संलग्न छन्। सुरुमा सामान्य परम्परागत खोर बनाएर २५/३० वटा बाख्रा पाल्न थालेका राईको खोरमा अहिले १०० भन्दा बढी खसीबाख्रा छन् । हालै निर्माण गरिएको आधुनिक र सुसज्जित खोरले उनको आत्मविश्वास मात्र बढाएको छैन, व्यवस्थापन र उत्पादन क्षमतामा समेत आमूल परिवर्तन ल्याएको छ ।
“सुरुमा सामान्य खोरमै बाख्रा पाल्थें, व्यवस्थापनमा धेरै गाह्रो हुन्थ्यो,” उनले भने । “अहिले यो नयाँ खोरले सरसफाइ, सुविधा र उत्पादन तीनवटैमा फाइदा दिएको छ। आत्मविश्वास पनि धेरै बढेको छ।”
यता, सिद्धिचरण नगरपालिका–२, मुखियाटोलका भूपेन्द्र कार्की पनि विगत चार वर्षदेखि बाख्रापालनमा सक्रिय छन् । सुरुका दिनमा संरचना राम्रो नहुँदा खसीबाख्राको स्याहार–सुसारमा कठिनाइ भोग्नुपरेको थियो । रोगको जोखिम, तौल घट्ने समस्या र उत्पादन क्षमतामा कमी जस्ता समस्याले पिरोलिरहेको थियो । तर अहिले अवस्था र व्यवस्था दुवै फेरिएको छ । सरकारी अनुदानमा लागत साझेदारीबाट निर्माण गरिएको आधुनिक खोरले सरसफाइ, स्वास्थ्य सुरक्षाको वातावरण र व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको छ ।
आधुनिक संरचनासँगै उनको सोचमा पनि व्यवसायिकता थपिएको छ । “अहिलेको यो आधुनिक खोरले व्यवस्थापन सजिलो बनाएको छ। अब त व्यवसायिक हिसाबले अगाडि बढ्न सकिन्छ जस्तो लागेको छ,” उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ओखलढुंगाका पाँच स्थानीय तहमा बाख्राजोन सञ्चालनमा छन् । यसै आर्थिक वर्षमा मात्रै जोन अन्तर्गत विभिन्न स्थानमा ३४ वटा आधुनिक खोर निर्माण गरिएका छन् । कृषकहरूको लगानीमा साझेदारीका आधारमा बनेका यस्ता खोरहरू अग्लो जगमा, पानी बग्ने, हावा र प्रकाश सहजै आउने गरी डिजाइन गरिएको छ । परम्परागत खोरभन्दा बढी सफा, व्यवस्थित र सुरक्षित संरचनाले कृषकहरूलाई व्यवसायिक पशुपालनमा उन्मुख गराएको छ ।
“पहिले–पहिले सामान्य खोरमा ४/५ वटा खसीबाख्रा पाल्दै आएका कृषकले पनि अहिले ३०/३५ वटासम्म पाल्न थालेका छन्,” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाकी पशु सेवा प्राविधिक सुनिता कार्कीले भनिन्। “अहिले खसीबाख्रा पनि स्वस्थ भएको कृषकहरूले हामी फिल्डमा जाँदा भन्नुहुन्छ,” उनले भनिन्।
अवधारणात्मक र संरचनागत सुधारमार्फत जिल्लाका कृषकहरू व्यवसायिक बाख्रापालनतर्फ आकर्षित हुँदै गएका छन् । सरकारी अनुदान, प्रविधिको पहुँच र कृषकको लगनशीलताले गाउँमै आत्मनिर्भरता र सम्भावनाको नयाँ ढोका खोलेको छ । निर्माण गरिएका आधुनिक खोरहरूले केवल पशु व्यवस्थापनमा सुधार ल्याएको छैन, कृषकको सोच, दृष्टिकोण र जीवनशैलीमा समेत सकारात्मक परिवर्तनको थालनी गरेको छ ।