ओखलढुंगा । कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पहाडी जिल्ला ओखलढुंगामा पछिल्लो समय आधुनिक र व्यवसायिक कृषितर्फ युवाको आकर्षण बढ्दो छ । परम्परागत खेतीप्रतिको घट्दो चासो, बदलिँदो मौसम तथा आय–आर्जनको नयाँ विकल्पको खोजीले युवाहरूलाई वैकल्पिक कृषि पद्धतितर्फ प्रेरित गरिरहेको छ । यसै सन्दर्भमा जिल्लामा व्यवसायिक कफी खेतीको पनि राम्रो सम्भावना देखिएसँगै स्थानीय युवा सामूहिक रूपमा कफी खेतीमा जुटेका छन् ।
कफी खेतीको राम्रो सम्भावना देखिएपछि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१२ का केही युवाले जिल्लामै व्यवसायिक कफी खेती विस्तार गरेका छन् । यहाँको मौसम र भौगोलिक बनावट कफीका लागि उपयुक्त देखिएपछि ‘ईष्टर्न माउन्टेन अर्गानिक कफी विन्स प्रालि’ नामक फर्म दर्ता गरेर उनीहरूले यसलाई व्यवसायिक रूपमा अगाडि बढाउन थालेका हुन् । सरकारी अनुदानसहित झन्डै ५० लाख रुपैयाँको लागतमा उनीहरूले सिद्धिचरण नगरपालिका–१२ स्थित गोगुनेमा १४० रोपनीभन्दा बढी क्षेत्रफलमा कफी खेती विस्तार गरेका हुन् ।

कफी खेती भएका विभिन्न ठाउँको भ्रमण तथा अवलोकन, प्रारम्भिक ज्ञान र सम्भाव्यताको अध्ययनपछि जिल्लामै कफी खेती विस्तार गरिएको फर्मका एक सञ्चालक सदस्य रामबाबु शाक्यले बताए । अर्गानिक रूपमा कफी उत्पादन गर्न सुरुआती चरणमा आफैँ कृषक भएर काम गरिएको र पछि उत्पादन सुरु भएपछि कामदार राखेर फर्म सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
यस अघिपनि ओखलढुंगाका केही क्षेत्रमा छिटपुट रूपमा कफी खेतीको सुरुआत भने भइसकेको थियो । तर, युवाहरूको संलग्नतामा अहिले विस्तार गरिएको यो कफी खेती सम्भवतः जिल्लाकै सबैभन्दा ठूलो परिमाणको हो । अहिले उनीहरूले आफ्नो फर्ममा ५ हजारभन्दा बढी अराबिका जातका कफीको बिरुवा लगाएका छन् । प्रशस्त मात्रामा उत्पादन दिन थालेपछि यसलाई जिल्लामै प्रशोधन तथा ब्रान्डिङ गरी जिल्ला बाहिर निर्यात गर्ने योजना रहेको फर्मका अर्का सञ्चालक सदस्य नारायणकुमार खत्रीले बताए ।
भूगोल, हावापानी र माटोको हिसाबले ओखलढुंगामा अराबिका कफीको राम्रो सम्भावना देखिन्छ । परम्परागत खेतीको विकल्प मानिएको कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरणीय संरक्षण तथा दिगो आय–आर्जनको स्रोतका रूपमा हेरिएको छ । युवाहरूको यो पहललाई जिल्लाका सरोकारवाला निकायले समेत साथ दिइरहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (परियोजना कार्यान्वयन इकाई) ओखलढुंगाका कार्यालय प्रमुख हेम आलेले युवाहरूको यो पहल निकै सकारात्मक भएको बताए । भूगोल र हावापानीले साथ दिएकाले अराबिका कफीको राम्रो सम्भावना देखिएपछि कार्यालयले अनुदान तथा प्राविधिक सहयोग गरिएको उनले बताए । समुद्र सतहबाट ८ सय मिटरभन्दा माथि हिउँ वा तुषारो नपर्ने भूभागमा उत्पादन हुने अराबिका कफी उच्च गुणस्तरीय मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कफीको माग दिनानुदिन बढिरहेको सन्दर्भमा जिल्लामा प्रशस्त मात्रामा कफी उत्पादन गर्न सकिए जिल्लाको मात्र नभई मुलुककै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिन्छ ।


