• २०८२, १ श्रावण बिहीबार
0 COMMENTS

ओखलढुंगा । समुद्री सतहदेखि २ हजार ५ सय मिटरभन्दा माथिको उचाइमा उत्पादन हुने विशेष कृषि उपज हो बुङको आलु। विशेषगरी ओखलढुंगाको उच्च भेगमा कुनै पनि रासायनिक मल प्रयोग नगरी स्थानीय बीउ, जैविक मल र श्रमको भरमा बुङको आलु उत्पादन हुँदै आएको छ। स्वाद र स्वास्थ्यका दृष्टिले समेत लाभदायक मानिएको बुङको आलुको माग पछिल्लो समय बाह्य जिल्लामा समेत उल्लेख्य मात्रामा बढ्न थालेपछि यसको प्रवर्द्धनमा सम्बन्धित निकाय थप सक्रिय बनेका छन्।

जिल्लाको बिप्लाटे, टोड्के, ठाडे, जन्तरखानी, पात्ले, भुसिंगा, खिजीफँलाटे, खिजीकाती, रगनीजस्ता उच्च भेगमा बुङको आलु प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ। पूर्ण रूपमा अर्गानिक विधिबाट परम्परागत ढंगले उत्पादन हुँदै आएको बुङको आलुमा निर्यातको सम्भावना देखिएपछि सम्बन्धित सरकारी तथा स्थानीय निकायले थप सक्रियता बढाएका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषकहरूलाई अर्गानिक प्रविधिबाट उत्पादन गर्न प्रोत्साहन गर्दै आवश्यक प्रशिक्षण, अनुदान र बजारीकरण सहजीकरणजस्ता कार्यक्रमहरू अघि सारिएका छन्।

स्थानीय उत्पादकहरूलाई सशक्त बनाउन भण्डारण, प्याकेजिङ र मूल्य श्रृङ्खलाको सुधारमा पनि जोड दिइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ ओखलढुंगाका कृषि प्राविधिक लिलाकुमार श्रेष्ठले बताए। “यहाँको उच्च भेगमा परम्परागत तरिकाले बुङको आलु उत्पादन हुँदै आएको छ। यसलाई अझ व्यवस्थित बनाउन हामीले समयमा तालिम दिएका छौँ,” उनले भने। “किसानलाई राम्रो बीउ वितरण गरेका छौँ, प्राविधिक सहयोग उपलब्ध गराएका छौँ,” उनले थपे। “आलु भण्डारणका लागि अनुदान सहयोग गरेका छौँ भने प्याकेजिङका लागि पनि आवश्यक सामग्री उपलब्ध गराएर किसानलाई सजिलो बनाएका छौँ,” श्रेष्ठले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओखलढुंगाको ४ स्थानीय तहका ११ वडालाई आलु जोन घोषणा गरेर कार्यक्रम सञ्चालन भइरहेको छ। तीमध्ये उच्च भेगका करिब १ हजार ५ सय हेक्टर क्षेत्रमा बुङ विधिबाट आलु उत्पादन हुँदै आएको छ। परियोजनाको सक्रियताले हराउँदै गएको बुङको आलु खेतीलाई पुनः जगेर्ना गर्न सघाएको छ भने उत्पादकलाई उचित मूल्य प्राप्त हुन थालेको छ।

सिद्धिचरण नगरपालिका–७ टोड्केका कृषक राजेश श्रेष्ठले भने, “पहिले परियोजना नहुँदा बुङको आलु खेती हराउनै लागेको थियो। अहिले फेरि विस्तार हुँदै गएको छ,” उनले भने। “हामीले परम्परागत सीप र जैविक मल प्रयोग गरेर खेती गरेका छौँ। पछिल्लो समय यसको माग बढेकाले उचित मूल्य पाइन्छ,” उनले थपे। “पहिले बजारको समस्या थियो, अब बाहिरी जिल्लामा समेत पठाउन सकेका छौँ। सरकारी सहयोग र तालिमले किसानलाई अझ हौसला मिलेको छ।”

बुङको आलु एक स्थानमा कम्तीमा ५ देखि १० वर्षको अन्तरालमा मात्र नयाँ खेती गरिन्छ। यहाँ उत्पादित आलु प्रति पाथी १ सय ५० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। परियोजना कार्यान्वयन इकाइका अनुसार ओखलढुंगाबाट वार्षिक १ करोड रुपैयाँभन्दा बढिको बुङ आलु बाह्य जिल्ला निर्यात हुँदै आएको छ।

पछिल्लो समय बुङको आलुको माग र महत्व दुवै बढ्दै गएपछि यसको व्यावसायिक उत्पादनतर्फ किसानहरू आकर्षित हुँदै गएका छन्। परम्परागत सीप, अर्गानिक पद्धति र सरकारी सहयोगको सम्मिश्रणले बुङको आलु ओखलढुंगाको चिनारी मात्र होइन, समृद्धिको आधार बन्दै गएको छ। यही निरन्तरताले कृषि क्षेत्रमा रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धि गर्दै लैजाने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!