ओखलढुंगा । जिल्लामा सवारी दुर्घटनाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको करिब डेढ लाख रुपैयाँ बराबरको आधुनिक ब्रेथलाईजर उपकरण प्रदान गरिएको हो । आज (बुधबार) जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित रमाइलोडाँडामा एक कार्यक्रमका बीच नगरपालिकाका मेयर तेजन खनालले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उक्त ब्रेथलाईजर हस्तान्तरण गरिएको छ ।
स्थानीय स्तरमै पहिलोपटक प्रविधिमैत्री सुरक्षा उपकरण वितरण गरिएको यस पहललाई सडक सुरक्षाका लागि एक सकारात्मक र प्रभावकारी कदमका रूपमा लिइएको छ । कार्यक्रममा ब्रेथलाईजर हस्तान्तरण गर्दै सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले सुरक्षित र मर्यादित ट्राफिक प्रणाली निर्माणमा यो एउटा सशक्त पहल भएको बताए । यसले दुर्घटना न्यूनीकरणमा निकै राम्रो नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । पछिल्लो समय मापसे गरी सवारी साधन चलाउने चालकको संख्या बढ्दै गएको सन्दर्भमा ब्रेथलाईजरले यसको रोकथाममा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।
ब्रेथलाईजर हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (डिएसपी) मदन केसी, जनप्रतिनिधि, नेपाल तथा ट्राफिक प्रहरी, सवारी धनी तथा चालक, स्थानीय बासिन्दा, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । प्रहरीका अनुसार, ओखलढुंगामा पछिल्ला वर्षहरूमा मद्यपान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति वृद्धि हुँदै गएको देखिएको छ । जसका कारण केही गम्भीर दुर्घटनाहरू पनि भएका उल्लेख गरिएको छ । यस्ता दुर्घटनाहरूबाट जनधनको क्षति हुन नदिन सशक्त कदमको आवश्यकता महसुस गर्दै यो उपकरण खरिद गरिएको हो ।
ब्रेथलाईजर उपकरणले सवारी चालकले मद्यपान गरेको छ कि छैन भन्ने तुरुन्तै परीक्षण गर्न सक्नेछ । जसले ट्राफिक प्रहरीले चेकजाँचलाई अझ भरपर्दो र वैज्ञानिक बनाउन सहयोग गर्नेछ । अब ट्राफिक टोलीले विभिन्न नाका तथा सडकखण्डहरूमा नियमित रूपमा जाँच अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यस किसिमको प्रविधिमैत्री पहलले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि गर्नुको साथै जनमानसमा पनि ‘मद्यपानपछि गाडी चलाउनु हुँदैन’ भन्ने चेतनाको स्थायी सन्देश पुर्याउने अपेक्षा गरिएको छ ।
यसअघि पनि ट्राफिक प्रहरीलाई चिसंखुगढी गाउँपालिकाले एउटा ब्रेथलाईजर प्रदान गरेको थियो । तर छोटो समयमै बिग्रिएपछि नगरपालिकाले पुनः नयाँ ब्रेथलाईजर उपलब्ध गराएको हो । यससँगै अब ट्राफिक प्रहरीको मापसे चेकजाँच कार्य नियमित हुनेछ ।