ओखलढुंगाः सिद्धिचरण नगरपालिका ११ स्थित जनसेवा गुठीले २९ बर्षपछि लाखे जात्रा निकालेको छ । २०५१ सालमा अन्तिम पटक जात्रा निकालेर स्थगीत भएको लाखे जात्रा यसबर्षबाट पुनः सुरु भएको गुठीले जनाएको छ ।
जनशक्ती अभावका कारण प्रत्येक बर्ष निकाल्दै आएको लाखे जात्रा आजभन्दा करिब २९ बर्षपहिले सञ्चालन भएर स्थगित भएको थियो । तर यसबर्षबाट नयाँ पुस्ताका युवाहरुले चासो देखाएकाले पुनः लाखे जात्रा निकाल्न सुरु गरिएको जनसेवा गुठीका अध्यक्ष सानोबाबु खड्काले जानकारी दिए ।
२०४७ सालबाट करिब ५ बर्ष निरन्तर निकालेपछि युवा अभावका कारण स्थगीत भएको लाखेजात्रा यसबर्षबाट पुनः ब्युतिएको अध्यक्ष खड्काको भनाई छ । नयाँ जोस र जाँगर सहित निकालिएको लाखे जात्रा मंगलबार आजबाट सुरु भएको हो । नेवार समुदायको परम्पराकाल देखि चल्दै आएको लाखे जात्रा एक महिनासम्म चल्ने गर्दछ ।
पर्वको अवसरमा गाईजात्रा,रोपाइजात्रा,कृष्णजन्माअष्टमी जात्रा लगायत देखाउने चलन छ । यस समुदायको मृत्यु संस्कारसंग जोडिएको लाखे जात्रामा एक बर्षभित्र समुदायभित्र मृत्यु भएका ब्यक्तीको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिगाँरेर बजार परिक्रमा गराउने चलन रहेको छ ।
यस वाहेक सदरमुकामको जनहित गुठी र पारस्पारिक सहयोगी गुठीले पनि प्रत्येक बर्ष लाखेजात्रा निकाल्दै आएका छन् ।