ओखलढुंगा । आउँदै गरेको महान चाड दँशै तिहार लगायतलाई लक्षित गर्दै जिल्लाका सवारी चालहरुलाई सवारी सञ्चालन सचेतना दिईएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा जिल्ला स्थित यात्रु तथा मालबाहक सवारी साधनका चालकहरुलाई सचेतना दिएको हो ।
जिल्ला प्रसासन कार्यालयको सभाहलमा आज (शुक्रबार) सवारी चालक तथा यातायात ब्यवसायीहरुलाई समेत सहभागी गराएर सचेतना दिईएको छ । आउँदै गरेको चाडवर्पमा सवारी साधनमा यात्रुको चाप बढ्न सक्छ । जसका कारण त्यसबाट हुन सक्ने सम्भावित दुर्घटनाको न्यूनिकरण र यात्रुहरुलाई आईपर्ने विभिन्न समस्या समाधानका लागि चालकहरुलाई सचेतना दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी साजन कार्कीले जानकारी दिए ।
सचेतना कक्षामा जिल्लाका झन्डै २५ जना चारपाङग्रे तथा ठुला सवारी साधनका चालक सहित यातायात व्यवसायी तथा टिकट काउन्टर सञ्चालकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई जिल्ला प्रहरी प्रमुख (डिएसपी) सुकदेव खनाल लगायतले दुर्घटना न्यूनिकरणका लागि सवारी चालकहरुले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रष्टयाएका थिए ।
त्यस्तै सवारी चालक तथा यातायात ब्यवसायीहरुलाई तोकिए भन्दा बढी भाडा नलिन, क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन तथा लापरबाही तरिकाले सवारी नचलाउन, कागजात साथमै राख्न र सवारी साधनको अवस्था चेकजाँच गरेर मात्रै सवारी चलाउन समेत सचेत गराईएको बताईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न समयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको छ ।