ओखलढुंगा । सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकार आफुले चुनाबताका गरेको बाचा पुरा गर्न लागिपरेका छन । अध्यक्ष ताम्राकारले गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा आफु निर्वाचित भए वडाबाट आफुले पाउने तलब भत्ता आफ्नो कार्यकाल अवधीभर सामाजिक काममा खर्चिने प्रतिवद्धता जनाएका थिए ।
सोहि प्रतिबद्धता अनुशार पहिलो चरणमा पाएको तलब भत्ताबाट उनले आज (शुक्रबार) वडाका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न वितरण गरेका छन । वडाका ३२ घरपरिवालाई उनले आज टोलटोलमै पुगेर खाप्mनै खर्चमा (वडा बाट प्राप्त तलब भत्ता) प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन वितरण गरेका हुन ।
वडा कार्यालयले छनौट गरेका विपन्न, असक्त, अपाङग तथा एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ । वडा कार्यालयका कर्मचारी तथा वडा सदस्यहरुको समन्वयमा उनले वडा स्थित रमाईलोडाँडा, गैरीगाउँ, मिलनचोक, बिबल्याटे, सोबु्र लगायतका स्थानमा पुगेर खाद्यान्न वितरण गरे ।
खाद्यान्न वितरण गर्दै वडा अध्यक्ष ताम्राकारले आफुले पहिलो चरणमा वडाबाट पाएको तलब भत्ता चुनावताकाको बाचा अनुशार सामाजिक काममा खर्चिएको बताए । विपन्न परिवारलाई अहिले आफुले गरेको सहयोग त्यति ठुलो नभए पनि त्यस्ता परिवारलाई केहि हदसम्म राहत मिल्ने उनले बताए ।
आफुले गरेको यो सहयोग सुरुवात मात्र भएको भन्दै उनले आगामी दिनमा पनि आफ्नो तलब भत्ता यसरी नै सामाजिक काममा खर्चिने बताए । दँशैले छपक्कै छोपिसकेको अवस्थामा वडा अध्यक्षले आफ्नै टोल टोलमा पुगेर यसरी खाद्यान्न सहयोग गर्दा विपन्न परिवार अत्यन्तै खुसी भएका छन ।
खाद्यान्न लिँदै गैरीगाउँकी अशक्त महिला मिनाकुमारी गिरीले वडा अध्यक्ष ताम्राकार निर्वाचित भएपछि आफुहरुले वडाबाट पाउने सेवा सुविधा निकै सहज भएको बताईन । “तपाईँकै पहलले हामीले खेतीपातीका लागि रासायनिक मल पायौँ, अरु पनि धेरै सुविधा पाएका छौँ । तपाईँ हाम्रो अभिभावक हो, समस्या पर्दा तपाईँलाई गुहार्नुपर्छ, यसरी नै सहयोग गर्दै जानुहोला” उनले भनिन ।
यता सोब्रुका ६३ बर्षिय सुनबहादुर राईले वडा अध्यक्ष ताम्राकारले चुनावताका गरेको बाचा पुरा गर्न लागिपरेको देखेर आफु निकै हर्षित भएको बताए । अहिलेको कार्यकाल मात्रै नभएर अर्को कार्यकालका लागि पनि आफु ताम्राकारलाई भोट दिन तयार रहेको उनको भनाई थियो ।