रामेछापः मोटरसाईकल चोरीमा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरिएको छ । स्थानीयले पार्किङ्गमा राखेको मोटरसाईकल चोरी गरेर पार्टपुर्जा झिकेको अभियोगमा रामेछाप प्रहरीले प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
दोलखाको मेलुङ्ग गाउँपालिका स्थायी घर भएका प्रहरी जवान भण्डारी जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकको रुपमा कार्यरत रहेका थिए । उनले नयाँ बर्षको दिन मन्थलीमा कपडा ब्यवसाय गर्दै आएका रमेश नेपालीको पार्किङ्ग गरी राखिएको प्रदेश ०२–०२८प ०९०७ नम्बरको मोटरसाइकल चोरी गरी आकाशेको एक घरको कोठाभित्र पार्टपुर्जा निकालेको अवस्थामा फेला परेको थियो ।
सवारीधनी नेपालीको जाहेरीका आधारमा प्रहरीले सिसी क्यमेराको आधारमा खोजतलास गर्दा प्रहरी जावनले चोरी गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
मोटरसाईकल चोरीमा संलग्न प्रहरी जवान भण्डारी पदबाट समेत निलम्बनमा परेका छन् । उनलाई हाल प्रहरी हिरासतमा राखेर अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको रामेछाप प्रहरीले जनाएको छ ।