रामेछाप: मन्थली माध्यमिक विद्यालयको २०५५ सालको एसएलसी ब्याजका युवाहरूले शारीरिक रूपमा अपाङ्गता भएकी एक युवतीका परिवारलाई आर्थिक सहयोग गरेको छ । मङ्गलवार सदरमुकाम मन्थलीमा शारीरिक रूपले अपाङ्गता भई देब्रे खुट्टा गुमाएकी नगरपालिका – १ बिच बजारका धुव्र बुढाथोकीकी २१ वर्षीय छोरी ज्वती बुढाथोकीलाई आर्थिक सहयोग गरेका हुन् ।
एसएलसी २०५५ ब्याजका युवाहरूले बिगत ५ वर्षदेखि दुर्लभ रोग सिस्ट्यामिक स्क्लोसिसका कारण देब्रे खुट्टा गुमाएर हाल निरन्तर औषधी उपचारमा रहेकी ज्वतीलाई उपचारमा थप सहयोग पुर्याउन पिता धुव्र्र बुढाथोकीलाई नगद रु २० हजार ५ सय ५ रुपौया आर्थिक सहयोग गरेका छन् । युवाहरूले ज्वतीको औषधी उपचारका लागी थप टेवा पुर्याउन तथा थप आर्थिक सहायता लागी उक्त रकमबाट सहयोग सङ्कलनको सुरुवात गरेको जनाएको छ ।
एसएलसी २०५५ ब्याजका संयोजक तीर्थराज सुवेदीले सानो रकम सहयोग गरेर युवतीको ज्यान बचाउन तथा उनको औषधी उपचारका लागी सहयोग सङ्कलनको अपेक्षा समेत गरेको जनाए । पीडितका पिता धुव्रका अनुसार ज्वती १६ वर्षदेखि सस्ट्यामिक स्क्लोसिस रोगसंग लड्दै आएकी छिन् । उनी अहिले २१ वर्षकी भइन् ।
पुर्ख्यौली घर ओखलढुङ्गाको लिखु गाउँपालिका भए पनि हाल मन्थली नगरपालिका १ बिच बजारमा बस्दै आएकी ज्वतीकी परिवारले उनको उपचारमा करिब डेढ करोड बढी खर्च गरिसकेका छन् । छोरीको उपचारले निकै कमजोर आर्थिक अवस्थामा पुगेका उनका बुबा धुव्रले सहयोगी दातालाई थप सहयोग गरेर छोरीको ज्यान बचाइदिन आग्रह गरे ।
उनले हाल मासिक ५० हजार बढीको निरन्तर औषधी सेवन गर्नुपर्ने भएकाले आफू आर्थिक रूपमा निकै कमजोर भएको बताए । घरकी जेठी छोरी दुर्लभ रोगबाट ग्रसित बनेपछि परिवारमा तनाव बढेको छ । परिवारका सदस्यलाई छोरीको नियमित औषधी तथा फलो अप चेकअप लागी मासिक रूपमा खर्च जुटाउनै धौ धौ परेको जनाएको छ ।
पत्रकार महासंघ अध्यक्ष बद्री नयाँघरेले सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्ने दातालाई धन्यवाद दिँदै पीडित थप सहयोग गरेर उनको ज्यान बचाइदिन आग्रह गरे । ज्वती अहिले कक्षा १२ अध्ययनरत छिन् । यसअघि एसएलसी २०५५ ब्याजका युवाहरूले अन्य विभिन्न सामाजिक कामहरू समेत गर्दै आएका छन् ।