रामेछाप : कुटपिट तथा जबरजस्ती करणी मुद्धाका दुई फरार प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार कुटपिट तथा अङ्गभङ्ग मुद्धाका फरार प्रतिवादी रामेछाप नगरपालिका ५ का दीप कुमार तामाङ र जबरजस्ती करणी मुद्धाका लिखु तामाकोसी गाउँपालिका ३ का ४९ वर्षीय सिंह बादरा कामीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला अदालत रामेछापबाट कुटपिट तथा अङ्गभङ्ग र जबरजस्ती करणी मुद्रामा जरिवाना तथा जेल सजाय तोकिएपछि दुबै जना फरार रहेका थिए । फरार रहेका दुई जनालाई प्रहरीको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिए ।
पक्राउ परेका दीप कुमारलाई रामेछाप डाँडाबाट र जजक मुद्धाका फरार प्रतिवादी सिंह बहादुरलाई मन्थलीको देवकोटा चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दीप कुमारलाई जिल्ला अदालत रामेछापले पाँच महिना तिन दिन कैद भुक्तान सहित ५ हजार रुपौया जरिवानाको फैसला सुनाएको थियो ।
त्यस्तै जजक मुद्धाका सिंह बहादुरलाई अदालतले तिन वर्ष पाँच महिना सात दिन कैद भुक्तान सहित एक लाख रुपौया जरिवानाको फैसला सुनाएको थियो । हाल दुबै जनालाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको छ ।