ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले स्वास्थ्य क्षेत्र विस्तारै सुधार हुँदै गएको बताएका छन । सिद्धिचरण नगरपालिकाको स्वास्थ्य शाखाले आज (आईतबार) आयोजना गरेको ‘समता तथा पहुँच सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रमका सहभागीहरुले विगतको समयमा पर्याप्त मात्रामा स्वास्थ्य संस्था नहुँदा सर्वसाधरणले निकै पिडा भोग्नु परेको बताएका थिए । तर अहिले वडा वडामै स्वास्थ्य संस्थाहरु स्थापना हुँदा नागरिकलाई निकै सहज भएको उनिहरुको प्रतिक्रिया छ ।
विगतमा भनेको ठाउँमा स्वास्थ्य चौकी तथा प्रसुती गृहहरु नहुने र भएपनि आवश्यक उपकरण र जनशक्ति नहुँदा कतिपय महिलाले घरमै बच्चा जन्माउँदा विभिन्न कारणले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यताबाट गुज्रिएको उनिहरुले बताएका छन । तर अहिले त्यस्तो अवस्था नरहे पनि भएका स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण तथा जनशक्ति ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनिहरुको सुझाब छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले हाल प्रत्येक वडामा स्वास्थ्य चौकी, स्वास्थ्य ईकाई तथा युनिटहरु स्थापना भएपनि सिमित स्रोत र साधनका कारण नागरिकलाई भने आधारभूत उपचारको सेवा मात्रै दिन सकिएको बताए । विकसित मुलुकहरुमा राज्यले नै नागरिकलाई निशुल्क स्वास्थ्य र शिक्षा दिईरहेको बताउँदै उनले हामी त्यो स्थितीमा पुग्न निकै समय लाग्न सक्ने भएपनि आ आफ्नो क्षेत्रबाट सबैले पहल गर्नुपर्ने खनालले बताए । स्थानीय सरकारले दिईने स्वास्थ्य सेवा सामान्य नागरिकले पनि अनुभव गर्न पाउने गरी सेवा प्रवाह गर्न उनले सम्बन्धित कर्मचारीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममै नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले नगरपालिकामा चालु आर्थिक वर्षमा मातृ शिशु मृत्युदर शून्य हुनु सुखद पक्ष भएको बताए । अघिल्लो पुस्तालाई हेर्ने हो भने मातृशिशु मृत्युदरको अवस्था निकै भयावह भएको भन्दै उनले अहिले त्यस्तो स्थिती नरहेको बताए । हाल तिनै तहको सरकारले पनि शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएकाले नागरिकले केहि हदसम्म भएपनि स्वास्थ्य सेवाको अनुभूती गर्न पाएको उनको भनाई छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखा प्रमुख पबनकुमार लामाले नेपालमा जनस्वास्थ्य समस्याको रुपमा रहेको प्रमुख रोगहरु, विभिन्न प्रकारका स्वास्थ्य सेवा, स्वास्थ्य प्रणाली, स्वास्थ्य क्षेत्र तथा विकासको मुद्धा, आधारभूत स्वास्थ्य सेवा तथा सामाजिक स्वास्थ्य सुरक्षा आदी बारे प्रष्टयाएका थिए ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक आईतबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, नगरपालिका स्थित १२ वटै वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो ।