ओखलढुंगा । अबिरल वर्षका कारण जिल्लाको सदरमुकाम स्थित जि.स.स क्षेत्रमा पहिरो खस्दा १ करोड बढिको क्षति भएको छ । सिद्धिचरण नगरपालिका १२ मा पर्ने खोरिया टोलमा गएराती देखी परेको बर्षाका कारण आज (मंगलबार) बिहान ६ः३० बजेतिर पहिरो जाँदा २ घरमा क्षति पुगेको हो ।
घर माथिबाट पहिरो खस्दा सोहि स्थानका सोमबहादुर खत्रीको सांढे ३ तले पक्की घरको बिच तलाको पछाडिको भागमा क्षति पुगेको छ । उनको घर भन्दा झन्डै ५ सय मिटर माथिबाट झरेको पहिरोले सोहि ठाउँका पेशल खत्रीको ३ तले पक्की घरको पछाडी पट्टीको भाग भत्किँदा क्षति पुगेको छ ।
पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका २ जना सामान्य घाईते भएका छन । त्यस्तै सोहि ठाउँका सोमबहादुर कटवालको ढुङ्गा माटोले बनेको १ तले कच्चि घरको छेउबाट पहिरो झरी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।
पहिरोले खत्रीको घर नजिकै रहेको कुखुरा फर्म पुरिँदा झन्डै ७० वटा ब्रोईलर कुखुरा मरेका छन । पहिरोका कारण घर तथा कुखुरा फर्ममा क्षति हुँदा १ करोड रुपैयाँ भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
पहिरोका कारण उक्त ३ घर उच्च जोखिममा रहेकाले घर खाली गरेर पिडितलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाईएको बताईएको छ ।हाल सडक तथा घरभित्र परेको पहिरो पन्छाउने लगायतका काम भैरहेको प्रहरीले जनाएको छ ।