ओखलढुंगा । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले जिल्लाका ६ स्थानीय तहका महिला वडा सदस्यहरुलाई तेस्रो चरणको तालिम प्रदान गरेको छ । आज (आईतबार) चम्पादेवी गाउँपालिकामा ४ दिने प्रशिक्षण समापन भएसंगै ६ स्थानीय तहमा तेस्रो चरणको तालिम पुरा भएको हो ।
चम्पादेवीमा गत साउन ११ गतेबाट सुरु गरिएको तालिम आज सकिएको छ । जिल्ला स्थित सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभञ्ज्याङ, सुनकोशी, चम्पादेवी र चिसंखुगढी गाउँपालिकामा यो परियोजना सञ्चालन भएको छ ।
परियोजना सञ्चालन भएका अन्य ५ स्थानीय तहमा भने यस अघि नै मोड्युल ३ को तालिम समापन भैसकेको परियोजनाका कार्यक्रम मूल्याङकन अधिकृत बुना बिकले जानकारी दिईन । उनका अनुशार यो अवधिमा सिनपामा २२, मोलुङमा १४, मानेभञ्ज्याङमा १४, चिसंखुगढीमा १६, सुनकोशीमा १७ र चम्पादेवीमा १४ जना गरी जम्मा ९७ जना महिला वडा सदस्यहरुलाई यो तालिम प्रदान गरिएको छ ।
जम्मा १ सय ९ जना महिलाहरुलाई सहभागी गराउनुपर्ने भएपनि बाँकी १२ जना तालिममा सहभागी हुन नसकेको र उनिहरुलाई पुन अर्को तालिममा सहभागी गराईने पनि बिकले जानकारी दिईन । तेस्रो चरणको तालिमको अवधी ४ दिन भएपनि चिसंखुगढी र चम्पादेवीमा भने भर्खरै मात्र परियोजना लागु भएकोले ५ दिनमा समापन गरिएको बताईएको छ ।
उक्त २ पालिकामा तालिमको सार्वजनिक सुनुवाई समेत गरिएको छ । तालिम अवधीभर विभिन्न ६ वटै स्थानीय तहमा परियोजनाका प्रशिक्षकद्धय मैयाँ राई र देबेन्द्र राईले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।