ओखलढुंगाः नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्विकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए ।
हालै चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले यस्तो बताएका हुन् । सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि ओखलढुंगा आइपुगेका मन्त्री साउदले आइतबार पत्रकार सम्मेलनमा बोल्दै नक्सा जारी गरेपछि उक्त नक्सासहितको नोट अरू मुलुकलाई पठाए नपठाएको विषयमा खोजी गर्ने बताए ।
त्यस्तै मन्त्री साउदले कृषि पर्यटन र जल सम्पदाको प्रचुर सम्भावना रहेकाले यसको सही सदुपयोग गरी देशको अर्थतन्त्रमा आमूल परिर्वतन गर्न सकिने समेत बताए । उनले अहिले पनि नेपालमा ७० प्रतिशत नागरिक कृषिमै आबद्ध रहेकाले कृषिको आधुनिकीकरण गरेर व्यवसायलाई जोड दिन सके देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।
त्यस्तै आगामी आर्थिक वर्षमा नेपालबाट भारतमा बिद्युत्को ठुलो हिस्सा सप्लाई गर्न सकिने गरी सम्झौता भइसकेकाले बिद्युत्बाट पनि देशको अर्थतन्त्र सुधार गर्न सकिने बताएका हुन् । उनले देशमा भएका अन्य थुप्रै पर्यटकीय गन्तव्यहरूको उचित प्रचारप्रसार गरेर करोडको सङ्ख्यामा पर्यटक भित्राउन सकिने समेत बताए ।