ओखलढुंगा । आफैले बोकेको झोलाको पासो लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ६ रातेडाँडाका ६४ बर्षिय कुलबहादुर सुरालि मगरको मृत्यु भएको हो ।
निज मगर आईतबार भन्डै ५ बजे सोहि स्थानको मिलनचोकबाट आलु सहितको झोला पछाडि पिठ्युमा बोकी घर तर्फ गएका थिए । राती अबेरसम्म पनि घर आईनपुगे पछि आफन्तहरुले खोजतलास सुरु गरेका थिए । सोहि क्रममा आज (सोमबार) बिहान झन्डै ६ः३० बजे निजको घर बाट ५०० मिटर पश्चिम उत्तरमा गोरेटो बाटोबाट लडि करिब १ मिटर तल झर्दा चिलाउनेको रुखमा उक्त झोला अल्झिएर निजको घाँटिमा पासो लागी मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
स्थानीय जनप्रतिनिधीबाट घटनाको जानकारी आएपछि नजिकैको प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।