ओखलढुंगा । जिल्लाका नागरिक समाजका अगुवाहरुले सदरमुकामको साप्ताहिक हटियामा किसानहरुका लागि बनाइएको फलफुल तथा तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन माग गरेका छन् । जिल्ला पैरवी सञ्जालको तर्फवाट प्रतिनिधीहरुले शोमबार सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललाई ध्यानाकर्षण गराउदै यस्तो माग गरेका हुन् ।
नगरपालिका प्रमुख खनाललाई जिल्ला पैरवी सञ्जालको तर्फबाट पत्रकार तथा नागरिक समाजका प्रतिनिधीहरुले ध्यानाकर्षण पत्र बुझाउँदै कृषकहरुका लागि भनेर निर्माण गरिएको स्टलमा कृषकहरुलाई सहजतापूर्वक तरकारी व्यापार गर्न दिने व्यवस्था गर्न माग गरेका हुन् ।
किसानका लागि बनाइएका टहरामा कपडा तथा खाद्यान्न विक्रि वितरण गर्ने व्यापारीहरु बस्ने तर गाउँका किसानले डोकोमा तरकारी बोकेर ल्याउदम कहिले झरिमा रुझेर, कहिले पानीमा भिजेर सडक पेटीमा बस्नु पर्ने बाध्यता रहेकाले नगरप्रमुखको ध्यानाकर्षण गराईएको ध्यानाकर्षण गराइएको सञ्जालका सदस्य बोध नारायण श्रेष्ठले बताए । कृषकलाई हटियामा निर्माण गरिएका स्टलमा बसेर तरकारी बेच्ने वातावरण बनाउन नगर प्रमुख खनाललाई ध्यानाकर्षण बुझाउँदै माग गरिएको पनि श्रेष्ठले बताए ।
सदरमुकाममा घर भएका वा भाडामा सटर लिएर कपडा तथा खाद्यान्न विक्रि वितरण गर्ने व्यवसायीहरुले अहिले कृषि उपज राख्ने स्थलमा कब्जा जमाएका छन् । हाल नगरपालिकाले निर्माण गरेका टहराहरुमा गैह्र किसानले व्यवसाय गर्दै आएका छन् । किसानका लागि बनाइएको उपज केन्द्रमा भने नगरपालिकाले कार्यालयका रुपमा विकास गरेपछि किसानहरु सडकमा पुगेका छन् ।
किसानलाई नगरपालिकाले निर्माण गरेका स्टल उपलब्ध गराए स्वच्छ र सफा तरकारी उपभोक्ताले पाउने तथा किसानले पनि घामपानीको क्षति व्यहोर्नू नपर्ने पैरवी सञ्जालका सदस्य एवम् अभियान्ता विमला धमलाले बताइन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख खनालले नगरपालिकाले पशु बिक्रिस्थल तथा कृषि उपज बिक्रिस्थल उपयुक्त स्थानमा व्यवस्थापन गर्न काम शुरु गरेको बताए । उनले यस बर्ष बजेटमै व्यवस्था गरेर त्यस्ता संरचना बनाउने तयारी रहेको बताए ।