ओखलढुङ्गा । आज बडादशैंको पहिलो दिन घटस्थापना । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज कै दिनदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।
कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम साईत रहेको समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।