ओखलढुंगा । ‘हामी स्वयमसेवी अभियान कार्यक्रम’ ओखलढुंगामा थप प्रभावकारी बनाईने भएको छ । अभियानको जिल्ला स्तरिय अनुगमन समितीको आज (बिहीबार) जिल्ला प्रसासन कार्यालय ओखलढुंगामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले जिल्ला भरीका कक्षा ९ देखी १२ सम्म सञ्चालित विद्यालयहरुमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न कार्यविधी अनुसार स्थानीय तह तथा विद्यालयहरुमा सहजीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यक्रम सञ्चालनको समयमा नियमित अनुगमन र पृष्ठपोषण दिँदै कार्यक्रमको प्रभावकारितामा सहयोग गर्ने समेत निर्णय गरिएको छ ।
अभियानको जिल्ला स्तरीय अनुगमन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका कोशी प्रदेश निर्देशक निश्कल राई र कोशी प्रदेश फोकल पर्सन बाबुराम शर्मा लुईँटेल समेतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरुले अभियानले सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत किशोर किशोरीलाई लागु पदार्थ दूव्र्यसनको कुलत तथा प्रयोग गर्नबाट निरूत्साहित गरी नैतिक, जिम्मेवार तथा असल नागरिकको रूपमा सामाजिक दायित्व निर्वाह गर्ने साथै विपद व्यवस्थापन सम्बन्धमा विविध काम गर्न सक्षम विश्वास ब्यक्त गरेका थिए । बैठकको सहजीकरण ‘हामी स्वयमसेवी अभियान’ का जिल्ला संयोजक रेवतीरमण सुनुवारले गरेका थिए ।
के हो ? हामी स्वयंसेवी अभियान ?
‘हामी स्वयंसेवी’ अभियान किशोर अवस्थाका विद्यार्थी लक्षित आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरद्धारा सञ्चालित कार्यक्रम हो ।
विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्नेछ ।
माध्यमिक तहको ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराइने छ । यसमा कोशी प्रदेशका करिब २ हजार विद्यार्थी हामी स्वयंसेवी कार्यक्रममा आवद्ध हुने छन । विद्याथीहरू स्वयंसेवी अभियानको विभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागी भई विद्यार्थी आफैले नैतिकवान नेतृत्व शैलीको विकास गर्नेछन ।
अभियानका माध्यमबाट उनीहरूकै नेतृत्वदायी भूमिकामा रचनात्मक र सिर्जनशिल बनाउँने सीपको विकास गर्दै, आफूमै संभावना वा अवसरको खोजी, स्वःचेतना, स्वयंसेवी, व्यक्तिगत जीवनप्रति आशावादीे भई सफल बन्न प्रेरणा दिने, उनीहरूकै माध्यमबाट समाजमा हुँने गरेका सामाजिक अपराध, संगठित अपराध, राजनीतिक, विपद्, सडक दुर्घटना लगायतका गतिविधी न्यूनिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।