ओखलढुंगा । “स्थानीय उत्पादन, उद्योग, पर्यटन, तथा पुर्वाधार, मौलिक कला संस्कृति समृद्ध ओखलढुंगाको आधार” भन्ने मुल नाराका साथ दोस्रो ओखलढुंगा महोत्सव २०८१ सकिएको छ । गत बैशाख ५ गतेबाट सुरु भएको महोत्सव १७ गते औपचारिक रुपमा समापन गरिएको हो । समदरमुकाम स्थित स्थानीय खेल मैदानमा सञ्चालन भएको महोत्सवको प्रतिनिधी सभा सदस्य तथा नेपाल सरकार राज्य ब्यवस्था तथा सुशासन समिती सभापती रामहरी खतिवडा र पुर्व प्रतिनिधी सभा सदस्य यज्ञराज सुनुवारले सयुक्त रुपमा उद्घाटन गरे ।
त्यस्तै महोत्सवको समापन भने कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनुवारले गरे । बैशाख ५ गतेबाट सुरु भएको महोत्सव १५ गते औपचारीक रुपमा समापन गर्ने तय भएको थियो । तर २ दिन थप गरेर महोत्सवको १७ गते समापन गरिएको आयोजक उद्योग वाणिज्य संघ ओखलढुंगाले जनाएको छ ।
यसै बिच आज (बुधबार) महोत्सवको सह–आयोेजक एआईके ग्रुप काठमाण्डौले आफ्नो (सहआयोजक तर्फ) महोत्सवमा भएको आयब्यय विवरण सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै विवरण सार्वजनिक गरिएको हो । विवरण सार्वजनिक गर्दै एआईके ग्रुपका कोषाध्यक्ष विश्वराम कार्कीले सह आयोजकलाई १ लाख ८२ हजार ९ सय घाटा भएको बताए ।
उनका अनुशार टिकट विक्री बापत १५ लाख ७५ हजार १ सय, बाल उद्यनबाट ६ लाख र स्टलबाट ८ लाख ६२ हजार रुपैयाँ गरी जम्मा ३० लाख ३७ हजार १ सय रुपैयाँ सह आयोजकको आम्दानी रहेको छ । त्यस्तै खर्च विवरणमा भने कलाकारहरुको पारिश्रमिक तर्फ १० लाख, कलाकार ओसारपसार (यातायात) तर्फ २ लाख, टेन्टमा ६ लाख, सेक्युरिटी खर्च १ लाख ९० हजार, गाडीमा प्रचारप्रसार तथा माईकिङ १ लाख, फ्लेक्स प्रिन्टमा ५० हजार खर्च भएको छ ।
त्यसैगरी मायाको चिनो ५० हजार, खादा तोरन ३० हजार, जेनेरेटर ४० हजार, साउण्ड सिस्टम २ लाख ५० हजार, ढुवानी ४ लाख, फोहोर ब्यवस्थापन २० हजार, डिजेल ४० हजार र होटल खर्च २ लाख ५० हजार गरी जम्मा ३२ लाख २० हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष कार्कीले जानकारी दिए । विशेष गरी ढुवानी खर्च, प्रचारप्रचार र १ दिन नक्कली टिकट समेत प्रयोगमा आएको पाईएकोले सह आयोजक घाटामा गएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमै ग्रुपका अध्यक्ष अजय न्यौपानेले महोत्सव सुरु भएको झन्डै ३ दिनसम्म संचरना निर्माण र ब्यवस्थापन भईनसकेका कारण पनि घाटामा गएको बताए । यता महोत्सवको आयोजक उद्योग वाणिज्य संघ ओखलढुंगाले भने केही समय पछि मात्रै महोत्सवको आयब्यय विवरण सार्वजनिक गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले अबको झन्डै १५ दिन भित्र विवरण सार्वजनिक गरिने बताए । कतिपय ठाउँबाट अझै आर्थिक सहयोग आउने क्रम जारी रहेको र अडिट रिपोर्ट लगायत अन्य ब्यवस्थापनको काम बाँकी नै रहेकाले विवरण सार्वजनिक गर्न समय लाग्ने उनको भनाई छ ।