ओखलढुंगा । बजेट तथा जनशक्ती अभावमा लैगिंक समानता नीति कार्यान्वयनमा कठिनाई भएको जिल्ला स्थित सरोकारवालाले बताएका छन । दलित महिला केन्द्र नेपालको शि लिड्स परियोजनाले आज (मंगलबार) सदरमुकाममा आयोजना गरेको स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुले कतिपय स्थानीय तहमा लैगिंक समानता नीति निर्माण गरिएको भएपनि सिमित बजेटका कारण कार्यान्वयमा भने समस्या हुने गरेको बताएका छन । कतिपय अवस्थामा योजना बनाउँदा ध्यान नपुग्दा लक्ष्य निर्धारण गर्न नसकिएको उनिहरुको भनाई छ । आउँदो आर्थिक वर्षहरुमा भने बजेट निर्माण गर्दा नै लैङ्गिक मैत्री बनाउन आपुहरुले सक्दो प्रयास गर्ने उनिहरुले बताएका छन ।
कार्यक्रममा सहजकर्ता सरु जोशीले स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिको अबस्था र आवश्यकता बारेमा सहजीकरण गर्दै सबै स्थानीय तहहरुले जेशी नीति निर्माण तथा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएकी थिइन । स्थानीय तहले नीति निर्माण गर्दा भौगोलिक बनोट, आवश्यकताको अध्ययन र अनुसन्धान गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले आफ्नो पालिकाले लैंगिक समाना नीति निर्माण गरेर कार्यान्वयनमा समेत ल्याएको बताए । बजेट तथा योजना निर्माणको क्रममा लक्षित बर्गले आफ्नो मुद्दा विर्सिदिदा लक्ष्य प्राप्तिका लागि समस्या उत्पन्न हुने गरेको उनको भनाई छ ।
त्यस्तै सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले गाउँ पालिकाको बजेट निर्माण हुनु अगाडी वडा तथा टोल स्तरबाट छनौट गर्दा लक्षित बर्गले मुद्दामा टेकेर अझै पनि बजेट माग्न सके लैगिक समानता नीती कार्यान्वयनमा सहज हुने बताईन । मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईले आफ्नो पालिकाले नीति निर्माण गरेको भएपनि त्यसलाई थप अध्ययन गरेर परिमार्जन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला स्थित ८ वटा स्थानीय तहमध्य परियोजना लागु नभएका लिखु र खिजीदेम्बा गाउँपालिकाका बाहेक अन्य सबै स्थानीय तहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।