ओखलढुंगा । ‘एक युवा एक विरुवा अभियान’ जिल्लामा पनि सुरु भएको छ । बृक्षरोपनको अभियानलाई बृहत बनाउन नेपाल सरकारले सुरु गरेको राष्ट्रिय अभियान अन्तर्रगत जिल्लामा पनि आज (शुक्रबार) बाट औपचारिक रुपमा अभियानको थालनी गरिएको हो । गत जेठ २७ गते बसेको जिल्ला बन क्षेत्र समन्वय समितीको बैठकको निर्णय अनुशार आजबाट अभियान सुरु गरिएको बताईएको छ ।
डिभिजन बन कार्यालय र सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ओखलढुंगाको आयोजनामा अभियान सुरु गरिएको हो । अभियान अन्तर्रगत आज जिल्ला समन्वय समिती ओखलढुंगाकी उप–प्रमुख तारा कार्कीको प्रमुख आतिथ्यतामा सिद्धिचरण नगरपालिका ११ मिलनचोक स्थित कालिकादेखी महिला सामुदायिक बन र सिनपा ११ कै सोब्रु स्थित सोब्रुडाँडा सामुदायिक बनमा बृक्षरोपन गरिएको छ ।
त्यस्तै विभिन्न उपभोक्ता समिती मार्फत जिल्लाका सबै स्थानीय तहमा बृक्षरोपन गरिएको सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ ओखलढुंगाका अध्यक्ष दिर्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुशार आज जिल्लाका विभिन्न स्थानमा केरा, धुपी, तेजपत्ता, सल्लो, विभिन्न प्रकारका फुल, लौठ सल्लालगायतका २ हजार ५ सय भन्दा बढी विरुवा रोपिएको छ ।
विशेष गरी जिल्लाका तल्लो भेगमा केराको विरुवा रोपिएको छ । औपचारिक रुपमा आजबाट अभियान सुरु गरिएको भएपनि आफ्नो अनुकुलता अनुशार अभियान अन्तर्रगत यस अघि पनि जिल्लाका थुप्रै ठाउँमा बृक्षरोपन भैसकेको र जारी रहेको अध्यक्ष खत्रीले बताए ।
आवश्यकता परेको अवस्थामा विभिन्न स्थानमा बृक्षरोपन गर्दै असार महिनाभर अभियान जारी रहने उनको भनाई छ । बहुउपयोगी साबित भएकाले केराको विरुवालाई प्राथमिकतामा राखेर अभियान सुरु गरिएको खत्रीले बताए ।