माध्यमिक शिक्षा परिक्षा (एसईइ) को नतिजा केहि समय अघि मात्रै सार्वजनिक भयो । नतिजा प्रकाशित भए सङ्गै देश तथा बिदेश मा रहने नेपालीहरुमा अहिले एसईइको नतिजा चर्चाको बिषय बनेको छ । होटल, चिया पसल, खाजा घर, चौतारो, मानिसको जमघट हुने सबै ठाउँमा किन आधा भन्दा बढी बिध्यार्थी अनुतिर्ण भए? भन्ने चर्चापरिपर्चा, बहस र विश्लेषण हुन्छ ।
नतिजाकै कुरा गर्नुपर्दा जिल्लाको हकमा ५१ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन । जुन सुखद र सन्तोकजनक नतिजा पक्कै होईन । यो नतिजा धेरै बालबालिका र अभिभावकको लागि टाउको दुखाई र चिन्ताको बिषय बनेको छ । अहिले अनुत्तीर्ण हुने बालबालिकाको अभिभावक देखि लिएर अर्को बर्षको लागि एसईइको तयारी गर्दै गरेका बालबालिकाका अभिभावक (स्वयम म) समेत यो नतिजाका कारण सोँचमग्न भएका छन ।
नतिजा कमजोर आउनुको पछाडी धेरै कारणहरु होलान र छन । नतिजा कमजोर आउनुमा स्वयम बालबालिका देखी अभिभावक र शिक्षकहरुको पनि उत्तिकै भूमिका रहन्छ । त्यसकारण शिक्षक र विद्यार्थीलाई मात्रै दोष दिएर अभिभावक पन्छिन मिल्दैमिल्दैन । अहिलेको अवस्थामा हामी अभिभावकले पनि आफ्ना कमीकमजोरी स्विकार्न सक्नुपर्छ ।
कसरी सुर्धान सकिएला नतिजा ?
विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकले आफ्ना बालबच्चाले गृहकार्य गरेको छ /छैन ? घर मा मोबाइल टिभिमा कत्तिको ब्यस्त हुन्छ ? नियमित रुपमा समयमा विद्यालय पुग्छ पुग्दैन ? जस्ता बिषयमा त्यति ध्यान दिईएको पाईँदैन । आजकल त आफु कुनै काममा ब्यस्त भईयो र बच्चा रोयो भने फकाउनलाई अभिभावक आफैले मोबाईल चलाउन दिने प्रचलन छ, जसले गर्दा बालबालिकामा सानै देखी मोबाईलको लत बसको हुन्छ । जुन पछि गएर छुटाउन निकै मुस्किल पर्छ । यो पक्कै राम्रो होईन ।
अभिभावकहरुले समय समयमा विद्यालय गएर आफ्नो बालबालिकाको पढाई लेखाई प्रति जानकारी लिने गरेको पाईँदैन । यसमा अभिभावकको ध्यान जान जरुरी छ । त्यस्तै शिक्षक शिक्षिकाले बच्चाको पढाइ कस्तो छ?उस्ले नियमित रुपमा गृहकार्य गर्ने गरेको छ /छैन ? अध्ययनमा उसको लगाब कस्तो छ ? यदी गर्दैन/छैन भने तुरुन्त उसको अभिभावकलाई जानकारी गराउने बानीको विकाश गर्नुपर्छ ।
यदि कुनै बिध्यार्थी पढाई लेखाईमा धेरै नै कमजोर छ भने सुधारका लागि उसको अभिभावकलाई बोलाएर दुवै पक्ष बसेर सल्लाह गरी आवश्यक कदम चाल्नुपर्छ । अधिकांश सामुदायिक बिध्यालयहरुमा विभिन्न किसिमका राजनीतिक सभा सम्मेलन हुने गरेका छन । त्यस्ता गतिविधी तत्काल रोक्न स्थानीय सरकार र सरोकारवाला सबै निकायले सक्रियता देखाउनुपर्छ ।
विद्यालयमा हुने यस्ता गतिविधीले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर परिरहेको हुन्छ । अधिकांश सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु पनि पेशा भन्दा बढी राजनीतिमा सक्रिय भएको पाईन्छ । ब्यक्तिगत रुपमा कुनै पनि राजनीतिक दलमा आस्था राख्न पाइएला तर आफ्नो दायित्व विर्सनु भएन । आफ्नो काधमा लाखौ बालिबालिकाको भविष्यको जिम्मेवारी छ भन्ने कुरा भुल्नु भएन ।
अब कुरा गरौँ स्वयम बालिबालिको । नौ १० कक्षामा पुगेको बिध्यार्थी नबुझ्ने र सानो पक्कै हुँदैन । पहिलो कुरा उ आफैले बुझ्नु पर्छ कि पढाइ मेरो आफ्नै लागि हो, मैले पढ्नु पर्छ । अभिभावक र शिक्षकको लागि हैन भन्ने कुरा दिमागमा घुसाउन जरुरी छ । यदि बिध्यार्थी स्वयमले यो कुरा दिमाखमा घुसाउन सक्दैन वा चाहँदैन भने शिक्षक र अभिभाबकले घोटेर पिलाए पनि उ कहिल्यै सफल हुन सक्दैन ।
विद्यार्थीहरुले आफ्नो खाने, खेल्ने र अध्ययन गर्ने समयको रुटिन बनाएर अघि बढ्दा झनै राम्रो । र अन्त्यमा हामिले चुनाब मा भोट दिएका जनप्रतिनिधिहरु को जिम्मेवारी हुन्छ आफ्नो वडा, आफ्नो नगर को विध्यालयको अबस्था कस्तो छ ? शिक्षक कस्ता छन? सम्बन्धित बिषयको लागि दक्ष र अनुभवी शिक्षक छन/छैनन ? शिक्षकहरु समयमा बिध्यालयमा उपस्थित हुन्छन/हुदैनन्?उनिहरुको अध्यापनको शैली बालबालिकाका लागि सहज छ /कि छैन ? अध्ययन र अध्यापनको लागि विध्यालयमा केके कुराको अभाव छ ? जस्ता विषयमा अनुगमन गरी आवश्यक सामग्रीको जोहो गर्न पहल गर्नुपर्छ ।
स्वयम कक्षा कोठामा गएर बालबालिकाहरु संग शिक्षक शिक्षिकाहरुको पढाउने शैली र उनिहरुले विद्यार्थीलाई गर्ने ब्यवहार बारे जान्ने प्रयास गर्नुपर्छ । यसो गर्ने सके पछिल्ला वर्षहरुको नतिजा पक्कै राम्रो आउन सक्छ ।
(लेखक धमला सल्लेरी ओखलढुंगाका हुन । हाल दोहा कतारमा छन । लेखमा ब्यक्त विचार निजी हुन्।)