ओखलढुंगा । जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन । जिल्लाका विभिन्न २ स्थानमा बोलेरो र मोटरसाईकल दुर्घटना हुँदा ४ जना घाईते भएका हुन । आज (बिहीबार) दिउँसो सोलुखुम्बुबाट काठमाडौँ तर्फ जाँदै गरेको बोलेरो ओखलढुङ्गामा दुर्घटनामा परेको छ । बोलेरो दुर्घटनामा परि त्यसमा सवार दुईजना गम्भीर घाइते भएका छन ।
घाइते हुनेहरुमा सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं. ५ का ३८ बर्षिया रन्जु खड्का र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ५ का ३१ बर्षिय दिनेश थापा रहेका छन । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरो जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ८ जरंगे, भुसुनेको जंगलमा आज दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको हो ।
बोलेरो सडकमा गुडिरहेको अबस्थामा अचानक एक्सेल भाँचिएर सडकमा नै पल्टीएरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । यता जिल्लाकै सिद्धिचरण नगरपालिका ११ सोब्रुमा मोटरसाईकल र बोलेरो एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार २ जना घाईते भएका छन ।
घाईते हुनेमा मोटरसाईकल चालक जिल्लाको चिसंखुगढी गाउँपालिका ६ भदौरेका अन्दाजी ४० बर्षिय प्रकाश राई र सोहि मोटरसाईकलको पछाडी सवार सोही ठाउँका अन्दाजी वर्ष ५५ का जगतहादुर राई रहेका छन । चालक राईको पेट र दाहिने हातमा र पछाडी सवार राईको बाँया आखा माथि सामान्य चोट लागेको छ ।
आज दिउँसो झन्डै १ः४० बजेको समयमा सामुदायिक अस्पताल सोब्रुबाट सदरमुकाम तर्फ आउदै गरेको प्र २–०१–००१ प ९७५० नम्बरको को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको बा प्र ०१–०२६ च ०९३६ नम्बरको डबल क्याप बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । सवारी दुर्घटना परि घाइते भएका चारै जनालाई तत्काल उद्दार गरि उपचारका लागी सामुदायिक अस्पताल सोब्रु पठाइएको थियो ।
घाईते सबै जनाको अवस्था अहिले सामान्य रहेको बताईएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।